Aamsanchar

प्रतिष्ठाको तौल

Author Image
सोमवार, कार्तिक १, २०७८

कुरान, बाइवल, गीता सबैले पाप र पुण्य तौलने तुलो राखेको पाइन्छ। पुण्यलाई पुरस्कार र पापलाई दण्डको व्यवस्था यस लोकमा मात्र नभएर परलोकमा समेत स्वर्ग र नर्कको स्थान निश्चित गरी मानिसहरूलाई अनुशासनको घेरामा राखेको छ।

राज्यबाट सुनिश्चित हरेक मानवीय अधिकारहरूको संरक्षण गर्दै सम्बन्धितमा प्रत्याभूति दिलाउने विधा के हो ?  सिधा जवाफ छ कानुन। हो कानुन नै हो। भनिन्छ, प्रचलनमा रहेका परम्परा तथा अपनाउँदै आएका प्रचलित विधिहरू पनि उत्तिकै सम्मानित हुन्छन्। तर सबै प्रचलित परम्पराहरूको पालना अनिवार्य नहुन सक्छन्। क्षम्य होलान्। तर कानुन पालनामा क्षम्यले स्थान पाएको हुँदैन। जसरी एउटा मूर्तिकारले ढुंगालाई कुँदेर मूर्ति बनाउँछ। त्यस मूर्तिलाई मन्दिरमा राखेर प्राणप्रतिष्ठा गरिन्छ। त्यो मूर्तिकारले मैले कुँदेको मूर्ति मैले बनाएको भगवान् भन्ने हैसियत राखेर उपहास गर्न सक्दैन भन्ने यो पंक्तिकारको बुझाइ छ। स्वयं मूर्तिकार पनि मूर्तिको पाउमा पर्न लालायित हुन्छ।

मुलुकलाई सुव्यवस्थित तवरले चलायमान तथा व्यवस्थित बनाउन विधिको तर्जुमा गरिएको हुन्छ। यस्ता विधि कसरी तयार हुन्छन् ? यी सबै जिज्ञासाहरूको एउटै उत्तर आउँछ संविधान र कानुन !  देशको मूल कानुन संविधानले निर्देशित विभिन्न धाराहरूमा आधारित रहेर राज्य सञ्चालन हुन्छ। राज्य सञ्चालनका हरेक गतिविधि तथा क्रियाकलापहरू कानुनबाट नियन्त्रित तथा व्यवस्थित हुन्छन्। हरेक प्राणीहरूको सुरक्षा र तिनीहरूको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै कोरिएका कानुनी दफाहरूमा जीवन अडेको हुन्छ।

सबैलाई थाहा छ आफ्नो अधिकार ! भनिन्छ, आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नगर्नु। तर मानिसको स्वभाव न हो ! जब आफ्नो कुरा आउँछ अलि बढी गम्भीर हुन्छ नै ! अनि मिचिन्छन् कानुनी रेखाहरू अनि मूल्यमान्यताहरू बिर्सिन्छन्। कहाँ छ आचरण, अनुशासन अनि संविधान र कानुनले कोरेका भावनाहरू ? एउटा भनाइ छ आफूलाई पर्दा मरणान्त अरूलाई पर्दा वेदान्त आफूले गरेका सबै ठीक अरूले गरेका सबै बेठीक मभन्दा जान्ने कोही छैनन्, कानुन मैले बनाएको हो, यस्तै यस्तै दम्भहरूले हो कि ! संसारको हरेको कुनामा कानुनको संरक्षणको भूमिकामा वकिल (कानुनका ज्ञाता) हरूलाई महत्वपूर्ण मानिन्छ। न्याय दिन बसेका न्यायका मूर्तिहरूबाट कोही कसैलाई अन्याय नहोस्। न्यायका मूर्तिहरू कहीँ कतै भ्रमित भएर अर्थको अनर्थ नहोस् भनेर नै होला न्याय दिन बसेका न्यायमूर्तिहरूले वकिललाई विद्वानको संज्ञा दिएर उहाँहरूको बहसले देखाएका बिन्दुहरूको गहन अध्ययनलाई प्राथमिकतामा राखेको हरेक व्यक्तिले अन्यायमा न्यायका लागि वकिल गुहारेको ! वकिलहरूलाई विद्वानको उपमा हेरिरहँदा के विद्वानहरू पनि झुटा बोल्छन् ? विद्वानहरू पनि स्वार्थी र लालची हुन्छन् ? कालोलाई सेतो र सेतोलाई कालो देख्छन् ? विद्वानहरूले थप विद्या आर्जन गर्ने क्रममा भएर हो कि न्याय र अन्यायको भार तौलन बसेका न्यायाधीश एवं वकालत गर्न बसेका ती विद्वानहरू पनि आफूलाई कानुनका विद्यार्थी भन्न रुचाउँछन्। विद्यार्थी नै भएरै होला विभिन्न समयमा भए गरिएका बहस वकालत होस् या न्यायमूर्तिहरूबाट भए गरिएका न्याय सम्पादनहरू व्यक्ति र समयअनुसार ठीक र गलत हुने गरेका छन्। एउटै कानुनले व्याख्या गरेका कसुरहरू पनि सोही कानुनका दफाहरूलाई आधार लिएर सुरु अदालतबाट सम्पादित न्याय उच्च अदालतबाट बदर भएका छन्। उच्च अदालतबाट भएका फैसला आदेशहरू सर्वोच्चबाट बदर हुनुका साथै स्वयं सर्वोच्च अदालतबाट भए गरेका फैसलाहरू समेत पूर्ण इजलासबाट बदरभागी भएका छन्। संविधान र कानुनमा जे जस्ता धारा र दफाहरू लेखिए पनि त्यसमा गरिने बहस र न्याय प्रदान गर्न बसेका व्यक्तिका बुझाइहरूमा समेत फरक पर्दछ भन्ने घटित विभिन्न घटनाक्रमहरूले समेत देखाएका छन्।

वकिलहरूको धर्म आफ्नो पक्षमा फैसला ल्याउनु आचारसंहिताअनुसारको कार्य होला। तर के न्याय मर्ने गरी गरिने क्रियाकलापहरू पनि धर्ममा पर्छन् रु अदालती कारबाहीमा रहेका विषयहरूलाई सम्बन्धित वकिलहरूले अदालतभन्दा बाहिर बहसमा ल्याउन मिल्ने नमिल्ने के हो ? आफूले उठान गरेका विषय उपर आफ्नो पक्षमा अदालती कारबाही र फैसललाई प्रभावमा पार्ने गरी विभिन्न सञ्जालहरूमा समाचार बन्ने गरेको पाइन्छ। विद्वान वकिलहरू आफूले चाहेको विषयविरुद्ध अरू कसैले उजुर हालेको अर्थात् बोलेको सुन्न र देख्न किन चाहँदैनन् ? आफूलाई मन पर्नु र नपर्नु तथा आफ्नो रोजाइका विषयमा भएको वहसहरूले निष्पक्षता प्राप्त गर्छ भनेर कसरी अनुमान लगाउने ? कानुनी व्याख्या तथा बहसहरूमा कानुनको अर्को रूप तर्क पनि होला। तर सबै तर्कहरू प्रमाणमुखी नहुन सक्छन्। प्रमाणलाई धेरै तर्कहरूको आवश्यकता नपर्ला भन्ने पंक्तिकारको बुझाइ हो।

पक्ष र विपक्ष दुवैतर्फका आआफ्ना वकिल हुन्छन् नै। दोषीले पनि आफू उम्कन तथा जोगिन कानुनी सहायता लिन पाउने कानुनी सिद्धान्तहरूबाट आरोपी पनि बञ्चित हुने अवस्था रहेन। आफ्नो पक्ष दोषी नै भएको जान्दा जान्दै पनि निर्दोष बनाउन सक्नुलाई आफ्नो प्रतिष्ठामा जोड्छन् वकिलहरू। कानुनी बहस र कमजोरीहरूमा टेकेर अगाडि बढ्दै आफ्नो पक्षलाई निर्दोष सावित गराउनु त ठीकै हो तर आफूलाई लागेका विशुद्ध व्यक्तिगत बुझाइलाई यहाँ समाचारका रंग दलिन्छन्। जनसमूह के चाहन्छ भनेर अदालतलाई देखाउन खोजिन्छ। अदालतमा विचाराधीन रहेको विषय उपर कानुनका विद्वानहरूले आफ्नो राय सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरूमा ल्याउनु के ठीक हो र ! ती कानुनका विद्वानहरूलाई आफ्नो भनाइ अदालतमा राख्न स्थान छैन र ? यी अनुत्तरित प्रश्नहरूको जवाफ यो पंक्तिकारसँग छैन र कोही कसैलाई बिझाउन वा रिझाउन पोखिएका पनि होइनन्। एउटा सर्वसाधारण नागरिकका जिज्ञासा !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 460

प्रतिक्रिया (०)

सम्बन्धित खबर