Aamsanchar

पैगम्बर मुहम्मद (स) र उनले दिएका शिक्षा

Author Image
मङ्गलवार, कार्तिक २, २०७८

ऐतिहासिक रेकर्ड अनुसार आजभन्दा १४९६ वर्ष पहिले अरबको मक्का शहरमा एउटा बालकको जन्म भयो । बालकको बुवा  जन्मभन्दा पहिले नै बित्नुभयो । बालक ६ वर्षको हुँदा ममतामयी आमाबाट पनि वन्चित भयो । उनी बाल्यकालदेखि असल स्वभावको, चङ्ख र भावुक थियो । अन्य बालबालिकाहरूसँग खेल्ने र रङ्गमञ्च हेर्ने उनी भित्र रुचि थिएन । सत्य बोल्नु र इमान्दारी यी दुई गुण त उसको यस्तो पहिचान बनेको थियो कि युवावस्था नपुग्दै सादिक (सत्यवादी) र अमीन (इमान्दार) को नामले पनि प्रख्यात भयो । मानिसहरू आफ्नो बहुमुल्य वस्तु उसैलाई नासोको रुपमा राख्न दिन्थे ।

अरबमा अश्लिलता पनि एउटा साधारण कुरा थियो । लाज शरमको नाम मात्र थियो । त्यो युवक अत्यन्त सुन्दर युवक थियो तर बाटोमा हिँड्दा खेरी आफ्नो दृष्टि निहुराएर हिँड्ने गर्थ्यो । अरबमा मेरो गोरुको बाह्रै टक्का भन्ने विधान प्रचलित थियो । गरिब र कमजोरलाई सताइन्थ्यो र लुटिन्थ्यो र बन्धक बनाएर काम लिइन्थ्यो। मक्कावासीहरुले एउटा संस्था थियो जसको नाम हिल्फुल फज़ूल राखिएको थियो । संस्थाका सदस्यहरुले गरिब र बाहिरबाट आउने पीडितहरूलाई उनीहरूको अधिकार दिलाउने प्रयास गर्थे । मुहम्मद पनि त्यसमा भाग लिने गर्थ्यो । तर त्यस बेलाको अरबको वातावरण यति खराब थियो कि संसारको कुनै यस्तो कुकर्म थिएन जो उनीहरू भित्र पाइदैन थियो । जातिय भेदभावमा समाज विभाजित थियो । छोरी जन्मिदा उसलाई जिउँदै जमीनमा गाडिन्थ्यो । बुवाको मृत्युपछि आमाले आफ्नै छोराको भोगचलन मा आउन बाध्यता रहेको थियो । मानिसहरू स–साना कुरामा हात–हतियार निकाल्थे । लासको ताँती हुन्थ्यो । जातिय शत्रुता र युद्ध कैयौँ पुस्तासम्म चलिरहन्थ्यो । चारैतर्फ त्रास, आतंक, निर्लज्जता, अश्लिलता, अत्याचार र उत्पीडनको राज्य थियो । वर्षमा प्रत्येक दिनको लागि एउटा देवता थियो । देवीदेवताको मूर्तिहरू त्यस काबामा पनि राखिएका थिए जसलाई विश्वको पहिलो मानव आदम अलैहिस्सलामले एउटै सत्य ईश्वर अल्लाहको लागि निर्मित गरेका थिए ।

यस्तो परिस्थिति देखेर त्यो युवक दुखी हुनथाल्यो । ऊ यस सोचमा रहन्थ्यो कि मानिसलाई मानिसको दासताबाट निकालेर एक ईश्वरको उपासनामा कसरी प्रवेश गराउने । मनमा बोझ थपिँदै गएपछि उपत्यकाको किनारमा एउटा एकान्त गुफामा बसी ध्यानमा लीन रहन थाल्यो । त्यसै ध्यानावस्थामा एक दिन उसको समक्ष सत्य ईश्वरको एक फरिश्ता (दूत) जिब्रईल प्रकट हुनुभयो र उसलाई संसारका सारा मानिसहरूलाई दयाँ र शान्तिको मार्गमा हिँडाउनका लागि ईश्वरको दूत भएर इश्लाम धर्मलाई शान्ति सद्ज्ञानको यो प्रकाश तर्फ डोर्याउदै गुफाबाट निस्कियो र २३ वर्ष भित्रको अवधिमा अरब देशका मानिसहरू सयौँ देवीदेवताहरूलाई त्यागेर एक सत्य ईश्वरको सत्ता र भक्तिमा प्रवेश गर्न थाले यहाँ उनै आश्थाका केन्द्र पैगम्बर मुहम्मद (स) का शिक्षाहरु बारे चर्चा गर्ने जमर्को गरिएको छ ।

यस्ता छन् पैगम्बर मुहम्मदले दिएको शिक्षा
> तिमीहरु धर्तिबासिमाथि दया गर, अल्लाहले तिमीहरुमाथि दया गर्नेछन् ।
>ठूला पापहरूमध्ये सबैभन्दा ठूलो पाप यी हुन्– अल्लाहसंग कसैलाई साझी ठहर्याउनु, आमाबुवासँग दुर्व्यवहार गर्नु, कसैको हत्या गर्नु र झुठो गवाही दिनु ।
>आमाहरुको पैतालामुनि स्वर्ग छ ।
>त्यो व्यक्ति आस्थावान होइन जो आफू पेट भरी खान्छ जबकि उसको छिमेकी भोको हुन्छ ।
>अल्लाह त्यस व्यक्तिमाथि दया गर्दैनन् जो मानिसहरूमाथि दया गर्दैन ।
>पवित्रता, सफा सुग्घर बस्नु इमान (आस्था) को भाग हो ।
>प्रत्येक प्राणीसँग भलाई गर्दा पुण्य प्राप्त हुन्छ ।
>भोकाएको व्यक्तिलाई खान खुवाउने गर, बिरामीको भेटघाट गर र दासलाई मुक्त गर ।
>सबैभन्दा खराब (नराम्रो) शासकहरू ती हुन् जो जनताका अधिकारलाई कुल्चने गर्छन् ।
>घुस लिने दिने व्यक्तिहरू स्वर्गमा प्रवेश पाउने छैनन् ।
>अल्लाह तिम्रा अनुहार तथा तिम्रा धनलाई देख्दैनन् बरु तिम्रा मन र तिम्रा कर्मलाई देख्छन् ।
>मजदुरको मजदछरी उसको पसिना सुक्नु अगावै देऊ ।
>तिमीहरूमध्ये सबैभन्दा उत्तम त्यो हो जो आफ्नी पत्नीको लागि उत्तम हुन्छ र आफ्ना पत्नीहरूका निम्ति म सबैभन्दा उत्तम हुँ ।
>पहलवान –शक्तिशाली) ऊ हैन जसले मानिसलाई पछारछ, बरु पहलवान त्यो व्यक्ति हो जसले क्रोधको समयमा आफुमाथि नियंत्रण राख्छ ।
>त्यो व्यक्ति हामीमध्ये होइन जो आफुभन्दा सानालाई माया र आफुभन्दा ठूलालाई आदर सम्मान गर्दैन।
>सम्बन्ध टुटाउने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।
>कसैको बारेमा अनुमान नलगाउ किनकि अनुमान लगाउनु सबभन्दा ठूलो झुट हो । कसैलाई हानि पुर्याउने सोच नराख, र कसैको जासुसी नगर । कसैले कसैसँग लेनदेन गरेपछि त्यसमाथि लेनदेन नगर । इर्ष्या नगर । मनमा कसैप्रति शत्रुता नराख । परोक्षमा कसैको खराबी बयान नगर । सबै अल्लाहका भक्त र भाई–भाई बनेर जीवन बिताऊ ।
>खराब साथीहरुसँग बस्नु भन्दा एकलै बस्नु उत्तम हो र एकलै बस्नु भन्दा असल साथीहरुसँग बस्नु उत्तम हो ।
>प्रत्येक नसालु पदार्थ हराम (अवैध) छ ।
>मुस्लिम घरहरुमध्ये सबभन्दा उत्तम घर त्यो हो जसमा अनाथसँग राम्रो व्यवहार गरिन्छ र सबभन्दा नराम्रो घर त्यो हो जसमा अनाथसंग दुर्व्यवहार गरिन्छ ।
>सम्पूर्ण मानवजाति आदम र हव्वाबाट आएका हुन्, कुनै अरबीलाई कुनै गैर–अरबमाथि श्रेष्ठता प्राप्त छैन, न कुनै गैर–अरबलाई कुनै अरबमाथि श्रेष्ठता प्राप्त छ, कुनै गोरो व्यक्ति कालो व्यक्ति भन्दा उच्च छैन न त कालो व्यक्ति गोरो व्यक्तिभन्दा उच्च छ । ईशप्रायंता मात्र श्रेष्ठता र उच्चताको आधार हो।
>जसमा अमानत (नासोको रक्षा गर्ने क्षमता) छैन उसको ईमानको पनि कुनै अर्थ छैन र जसमा वचनवद्धता छैन उसको धर्मको पनि कुनै अर्थ छैन ।
>स्वर्गमा न त त्यो व्यक्ति प्रवेश गर्न पाउनेछ जो परोपकार गरी त्यसलाई जताउँछ न त्यो व्यक्ति जो आफ्ना आमाबुबाको अवज्ञाकारी होस् र न जाँड रक्सी खाने व्यक्ति ।
>जो व्यक्ति चाहन्छ कि उसको जीविका तथा आयुमा वृद्धि होस्, उसले आफ्ना नातेदारहरूप्रति उपकार गरोस् ।
>इर्ष्याले पुण्यलाई त्यसरी नै सखाप पार्छ जसरी काठलाई आगोले सखाप पार्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर