
काठमाडौँ – सरकारले पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी नेपाल आयल निगमले उल्लेख गरेअनुसारको गुणस्तर र विधिअनुसारको इथानोल खरिद गर्ने भएकाले सोही बमोजिम उत्पादन र आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूले निगममा निवेदन दिन भनेको छ।

निगमले इथानोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थबारे स्पष्ट जानकारी गराएको छ। उत्पादकले इथानोल बनाउन चिनी उद्योगबाट प्राप्त हुने खुदो ९मोलासेस० र नेपियर घाँस प्रयोग गर्न सकिने बताइएको छ।

यसैगरी खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ(बायोमास) पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष, सिमल तरुल (कास्साभा) लाई पनि इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न मिल्नेछ।
खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, कुहाउन (फर्मेन्टेसन) का लागि चाहिने मर्चा (यिस्ट) र अन्य आवश्यक रसायन पनि इथानोलको कच्चा पदार्थ हुन सक्छ भनिएको छ। ‘तर खाद्यान्नको रूपमा प्रयोग हुने अन्नलाई इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिनेछैन’‚ निगमले भनेको छ।
इथानोल प्रयोगसम्बन्धी आदेशले के भन्छ ?
‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ मार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ।
आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यकतानुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ।
उद्योगहरूले प्रचलित कानूनअनुसार तोकिएका कच्चा पदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ। निगमले प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ।
नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगहरूसँग सम्झौता गर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ।
इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ। अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ।


