Aamsanchar

अविरल वर्षाले झापाको जनजीवन प्रभावित, ५० प्रतिशत धानबालीमा क्षति, ४० घर डुबानमा

Author Image
बुधवार, कार्तिक ३, २०७८

झापा – दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्। धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए। झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाई छ।

लगातार पानी परेकोले पूर्ण विवरण आउन बाँकी रहेको बताउँदै उनले भने, ‘केन्द्रले स्थानीय स्थलगत रुपमा क्षतिको तथ्याङ्क सङ्कलनका लागि पत्राचार गरिसकेको छ, पानी रोकिए यकिन तथ्याङ्क सार्वजनिक गर्छौ।’

बेमौसमी वर्षाका कारण कचनकवल, झापा, कमल, गौरीगञ्ज, गौरादहलगायत स्थानीय तहमा धानबालीमा ठूलो क्षति पुगेको छ। पानी नजम्ने स्थानीय तहहरूमा कम क्षति पुगेको उनको भनाई छ।

‘केन्द्रले यस वर्ष धान उत्पादन वृद्धि हुने लक्ष्य राखेको थियो,’ उनले भने, ‘वर्षाले क्षति पुराउँदा उत्पादन घटने निश्चित देखियो।’ धानबालीसहित तरकारी खेतीमा पनि क्षति पुगेको उनको भनाई छ। 

४० घर डुबानमा

माई खोलामा आएको बाढीले गौरीगञ्जका ४० घर डुबानमा परेका छन्। गौरीगञ्ज गाउँपालिका–१ झोडास्थित होकलबारी बस्तीमा माई खोलाको पानी पस्दा ४० घरपरिवार डुबानमा परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनका अनुसार बाढीले प्रभावित घरपरिवारका मानिसहरू सुरक्षित स्थानमा गएर बसेका छन्। त्यस ठाउँमा दुवैतिरबाट खोला बगेको कारण तत्काल प्रहरी टोली घटनास्थल जान सक्ने अवस्था नरहेको बताए।

त्यस स्थानमा स्थानीयले प्रयोग गर्ने एउटा डुङ्गा (नाउ) समेत खोलाले बगाएर लगेको उनले बताए।

वर्षाका कारण मेची, निन्दा, हँडिया, कनकाई, माई, कमल, मावालगायत खोलामा पानीको बहाव बढेकोले तटीय क्षेत्रका बासिन्दा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)