मेचीनगरका युवा उद्यमी सचिन निरौलाले मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन्। मेचीनगर–२ निवासी ३६ वर्षीय निरौला लामो समयदेखि व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन्।

ग्रामिण परिवेशमै रहेर करिब दुई दशकदेखि उद्यमशीलता र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउँदै आएका निरौलाले यसपटक संघमा गाउँको प्रतिनिधित्व सुनिश्चित गर्न आफू अघि सरेको बताएका छन्। उनका अनुसार वाणिज्य संघका प्रमुख पदहरूमा प्रायः बजार क्षेत्रमै केन्द्रित प्रतिस्पर्धा हुने प्रवृत्तिले गाउँका उद्यमीहरू ओझेलमा पर्ने गरेका छन्।
“गाउँमै बसेर व्यवसाय गर्नेहरू पनि संघको नेतृत्व तहमा पुग्नुपर्छ भन्ने सोचले उम्मेद्वारी दिने निर्णय गरेको हुँ,” निरौलाको भनाइ छ।
बौद्धमोडस्थित ‘रिता स्टोर’ सञ्चालन गरिरहेका निरौला ‘जमघट चिया’ ब्राण्डमार्फत चिया उद्योगमा समेत सक्रिय छन्। उनका विभिन्न व्यवसायिक र सामाजिक पहलहरू—सहकारी, विद्यालय, चिया उद्योग, खुद्रा व्यापार तथा प्रकाशन—मार्फत करिब एक सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।

मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही वैशाख २६ गते निर्वाचन हुने तय भएको छ। अध्यक्षसहित १६ सदस्यीय कार्यसमिति चयन हुने उक्त निर्वाचनमा निरौलाको उम्मेद्वारीले गाउँ–केन्द्रित उद्यमीहरूको प्रतिनिधित्वको बहसलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।



