Aamsanchar

झापा : विभिन्न घटनामा एक भारतीयसहित १० जना पक्राउ

Author Image
सोमवार, मंसिर ६, २०७८

 

     

झापा : झापामा विभिन्न घटनामा एक भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विदेशी मुद्रा, फरार, लागु औषध र जुवातास खालबाट गरी १० जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट काठमाडौँ जान लागेका भारत पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा उनीबाट अमेरिकी डलर फेला परेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

उनको झोलाबाट सय डलरका २२६ थान अमेरिकी मुद्रा, भारतीय राहदानी र आधार कार्ड फेला परेको हो। बरामद सामग्रीसहित उनलाई झापा जिल्ला अदालतबाट सात दिने म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताए।

त्यस्तै वन पैदावार ओसारपसार मुद्दाका फरार साबिक खुदुनाबारी गाविस-१, हाल अर्जुनधारा नगरपालिका-१ निवासी ३६ वर्षीय रेशबहादुर एक्तेन पक्राउ परेका छन्।

झापा जिल्ला अदालतको २०७१ चैत २९ गतेको फैसलाबमोजिम उनलाई एक महिना कैद र १ लाख २६ हजार ४०३ रुपैयाँ जरिवानासहितको सजाय सुनाइएको थियो। अदालतको फैसलालगत्तै फरार उनलाई पक्राउ गरी झापा कारागार चलान गरिएको छ।

त्यसैगरी लागु औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ श्रीजंगा गाउँपालिका-३ निवासी २० वर्षीया अनिसा भट्टराई र इलाम नगरपालिका-६ निवासी २८ वर्षीय मनीष राई रहेको प्रहरीले जनाएको छ।

उनीहरूका साथबाट ब्राउन सुगर फेला परेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

त्यस्तै जुवा तास खेलिरहेका ६ जना नगदसहित दमकमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-३ का ४५ वर्षीय सोनी तामाङ‚ दमक नगरपालिका-४ का ४७ वर्षीय शेरबहादुर कार्की, सोही ठाउँका ५३ वर्षीय रेवत बुढाथोकी, ४६ वर्षीय चेतबहादुर कुँवर, दमक-९ का ४६ वर्षीय रविन श्रेष्ठ र मोरङ उर्लाबारी-६ का ६६ वर्षीय विश्वराज पराजुली रहेको एसपी भट्टराईले जानकारी दिए।

कार्कीले सञ्चालन गरेको सेकुवा कर्नर होटेलको कोठामा तास खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले जुवा खालबाट २ लाख ५६ हजार ३५० रुपैयाँ, एक बुक तास समेत फेला पारेको छ। उनीहरूलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर