Aamsanchar

एमाले महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने

Author Image
बिहिवार, मंसिर ९, २०७८

 

          

चितवन – चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएकाे छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाकाे व्यवस्था मिलाइने भएकाे हाे । 

एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उहाँहरु आज नै चितवन आउनु हुने छ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिनुभयो ।

यसैबीच केन्द्रीय स्तरका केही नेता हिजै चितवन आइसक्नुभएको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता आज आउनुहुने छ । महाधिवेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा  बढी सुरक्षाकर्मी खटिने छन् ।

महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आस्मान तामाङले जानकारी दिनुभएको छ। महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।

महाधिवेशन उद्घाटन हुने मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट चितवनको पश्चिमतर्फलगायत महाधिवेशन उद्घाटनस्थल क्षेत्रमा अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशन उद्घाटन समारोह चलिरहेकाे समयमा पश्चिमतर्फबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने भएकाे छ । आवतजावतलाई सहज बनाउन मुग्लिङ–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने भएकाे छ।

भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर