Aamsanchar

कांग्रेस मोरङको नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुरु हुँदै, सभापतिमा ३ आकाङ्क्षी

Author Image
शुक्रवार, मंसिर १०, २०७८

विराटनगर –निकै चासोसाथ देरिएको नेपाली कांग्रेस मोरङको नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुक्रबार शुरु हुँदैछ । मतदाता नामावली प्रकाशन गरेपछि मध्यान्न १२ बजेदेखि उमेदवारी दर्ता हुनेछ । अधिवेशन उदघाटनलगायत कार्यक्रम गर्ने र मतदान भने शनिबार गरिने जिल्ला सभापति डिगबहादुर लिम्बूले जानकारी दिएका छन् । उनले भने,“मनोनयन दर्तालगायत सबै प्रक्रिया आज पुरा गर्ने र भोलि मतदान गर्ने तयारी गरिएको छ ।” निर्वाचनमा ३ हजार ५ सय मतदाताले नेतृत्व चयन गर्न मतदान गर्ने लिम्बूले जानकारी दिएका छन् ।

जिल्ला नेतृत्व सम्हाल्न सभापति पदमा तीन जनाले दाबी प्रस्तुत गर्दै चुनावी अभियानसमेत शुरु गरिसकेका छन् । वर्तमान सभापति डिकबहादुर लिम्बू,दिलिप गच्छदार र यदु विष्टले औपचारिक रुपमै सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

सामाजिक संजालमार्फत र पार्टीका कार्यक्रमहरुमा मत मागिरहेका तीनै जना सभापतिको दौडमा छन् । लिम्बूले आफूले सभापतिमा दोहोर्याउने निर्णय गरिसकेको र चुनावी अभियान पनि थालेको बताउँदै भने,“मैले त चुनावमा उठ्ने भनेर घोषणा गरेरै मत माग्न थालिसकेको छु ।” लिम्बू १३ औं महाधिवेशनमा जिल्ला सभापतिको लागि देउवा प्यानलबाट उठेर जितेका थिए । यो पटक भने उनी कोइराला–पौडेल खेमामा छन् ।

यसैगरी मोरङ कांग्रेसमा पूर्वसचिव तथा युवा नेता यदु विष्टले पनि चुनावी अभियान शुरु गरिसकेका छन् । कार्यकर्तामाझ लोकप्रिय र सालिन छवि बनाएका विष्टले अब आफ्नो राजनीतिक दौड सभापतिकै लागि भएकोले उमेदवारी दिने घोषणा गरेको बताए । विष्ट निकै लोकप्रिय मतसाथ मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भईसकेका छन् । विष्टले भने,“पार्टीमा नैतिक आचरण र सैद्धान्तिक विषलाई अझ तिखारेर लैजान अनि कांग्रेसको मूल नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न मैले उमेदवारी दिने तयारी गरेको हुँ ।”

पार्टीका पूर्व जिल्ला उपसभपाति दिलिप गच्छदारले अध्यक्षको दाबेदारी प्रस्तुत गरिसकेका छन् । उनले कार्यकर्तामाझ मत मग्ने र चुनावी अभियानलाई तीव्रता दिएका छन् । पार्टीमा स्वभाविक रुपमा उपसभापतिको जिम्मेवारी पूरा गरिसकेपछि अध्यक्षको दाबी हुने बताउँदै गच्छदार भन्छन्,“अब पार्टीको जिल्ला नेतृत्वमा गएर संगठनलाई थप गति दिनुपर्छ भन्ने योजनासाथ अघि बढिरहेको छु ।” गच्छदारले पार्टीको संस्थापन पक्षबाट उमेदवार दिने तयारी थालेका हुन् ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पनि सभापतिमा उमेदवारी दिने चर्चा रहेको छ । आन्तरिक र पार्टी नेतृत्वसंग छलफलमा रहेको बताइएको छ । मोरङमा कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल र अमृत अर्यालको आ–आफ्नो पकड अनि प्रभाव रहेकोले चुनाव निकै रोचक तथा प्रतिस्पर्धात्मक हुने कांग्रेस कार्यकर्ताको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)