Aamsanchar

बालाचुर्तदशीको धार्मिक मान्यता रोचक !

Author Image
शुक्रवार, मंसिर १७, २०७८

आजको तिथिमा पितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरुको भीडभाड हुने गर्छ ।

हिजो रातभर जाग्राम बसेर, भजनकीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात आज विहान शतबीज छर्ने चलन रहेको छ । शतबीजमा सप्तबीज हुन्छ ।

हिन्दू धर्म मान्नेहरुले आफ्ना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरुलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शतबीज छर्ने गरिएको हो ।

मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दू धर्मालम्बीमा रहेको छ ।

शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तील, चना, मकै पनि शतबीजमा प्रयोग गर्ने गरिन्छ । मंसिर कृष्ण त्रयोदशीको दिन पितृहरुको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शतबीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शतबीज छर्नका लागि शिवालयनजिकका जंगलहरुलाई छान्ने गरिन्छ । काठमाडौंमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाट, श्लेषमान्तक वन, चतरा, बराहक्षेत्र, सेतीवेणी धाम, देवघाटलगायतका स्थानहरुमा शतबीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।

बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरु खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरुले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

उनीहरुको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेषमान्तक वनमा गएर भगवना शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतबीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शतबीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

साथी बालाको हत्या नगरि उनलाई सहज रुपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसैकसैले मित्रताको उदाहरणको दिनका रुपमा पनि लिन्छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर