Aamsanchar

आज मोक्षदा एकादशी

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

श्रीमद्भागवत गीता महापुराणअनुसार मंसिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनव्र्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रुपमा पनि लिने गरिन्छ ।

एकादशीमा विशेषगरि भगवान विष्णुको पूजा गरिन्छ । आज विष्णु प्रतिमा स्थापना गरेर धूप, दीप, नैवेद्य चढाउने परम्परा रहेको छ । त्यस्तै, ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने पनि विश्वास गरिन्छ ।

धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिनाले सबै पापहरुबाट समेत मोक्ष प्राप्ति हुन्छ । अनि पापबाट मोक्ष प्राप्त हुने भएकाले आजको एकादशीलाई मोक्षदा एकादशी भनिएको विश्वास गरिन्छ । आजको दिन शुद्ध मनले व्रत बस्नाले पूर्वजहरुले समेत पापबाट मुक्ति पाउने र उनीहरुको स्वर्गको बास हुने धार्मिक मान्यता रहेको छ ।

पौराणिक कथाअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजा थिए । राजा वैखानसले एक पटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफूलाई अनुनय गरेको देखे । यस्तो सपना देखेपछि उनी चिन्तित भए, विहानै उठेपछि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा उनले सविस्तार सुनाए । राजाको कुरा सुनेपछि गुरु पुरोहितहरुले पर्वत नाम गरेका एक तपस्वी ऋषिमुनिलाई भेटे र उद्धारको तरिका सिक्न खोजे ।

ती ऋषिले वैखानसलाई उनका पिताले पूर्वजन्ममा गरेको पापबारे बताए, त्यसका कारण नर्क भोग्नु परेको सविस्तार वर्णन गरे । अनि यसबाट पितालाई मुक्त गर्न मंसिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत लिनु पर्ने बताए । ती ऋषिको अनुसार वैखानसले मोक्षदा एकादशीको व्रत बसे, पितालाई नर्कबाट उद्धार गरे ।

त्यही बेलादेखि भक्तालुहरुले आफ्ना पितृको उद्धारका लागि मोक्षदा एकादशीमा व्रत बस्ने गरेको मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१