Aamsanchar

आज धनु संक्रान्ति

Author Image
बिहिवार, पौष १, २०७८

पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ ।

फेरि वैज्ञानिक रुपमा पनि के सत्य हो भने अब आजबाट दिनहरु विस्तारै छोटिँदै जानेछन्, रातहरु लामा हुनेछन् । सँगसँगै नेपालमा हुनुहुन्छ भने अब चिसो पनि निकै बढ्ने छ, यो वर्ष पुस र माघ महिनामा अरु वर्षहरुमा भन्दा अलिक बढी चिसो हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज पुस १ गते अर्थात् मकर संक्रान्ति पनि । वैदिक सनातन हिन्दू परम्पराअनुसार आजबाट सूर्य धनु राशीमा प्रवेश गर्दै छ । त्यसैले पनि आजको दिनलाई धनु संक्रान्तिको रुपमा पनि लिइन्छ । आजको संक्रान्तिमा नदी तथा छेउछाउका तालतलैयामा डुबुल्की मार्दा पापमोचन हुने र पुण्य प्राप्ति हुने विश्वास गरिन्छ ।

नेपालका विभिन्न ठाउँमा चिसो बढेसँगै अब न्याना कपडा, तातो खानेकुराहरु प्यारो लाग्न थालिसकेका छन् । हामीमध्ये कतिपय त केही समय पारिलो घाममा बस्दा पनि न्यानो महसुस गरिरहेका छौँ होला । अनि नुहाउनका लागि हामीलाई अब तातो पानी नभइ नहुने पनि भएको छ । तर, जाडो मौसममा तातो पानीले नुहाउँदा दुर्घटना भएका समाचार पनि बेलाबेलामा आइरहेका हुन्छन्, गिजर वा हिटर प्रयोग गर्दा ध्यान दिनुहोला है । बन्द कोठामा जाडोबाट बच्न प्रयोग हुने हिटर वा कोइलाको विषयमा पनि सावधानी अपनाउन हाम्रो पात्रो परिवार तपाईंहरुलाई हार्दिक अनुरोध गर्छ ।

स्वास्थ्यका हिसाबले चिसो मौसम लागेपछि हामी अलिक कम पानी पिउँछौँ । पानीको मात्रा शरीरमा कमी हुँदा हाम्रो छाला फुस्रो हुनेदेखि अरु समस्याहरु पनि हुनसक्छन् । यसबारे पनि ध्यान दिनुहोला । आजको संक्रान्तिसँगै हामीले विशेष ध्यान दिनु पर्ने विषयमा केही चर्चा गर्‍यौँ । अब यसको धार्मिक सन्दर्भबारे पनि चर्चा गरौँ ।

आजको दिन भगवान श्रीकृष्ण मथुरा गएको विश्वास गरिन्छ । श्रीकृष्ण भगवान मथुरा जानुको उद्देश्य चाहिँ हिंस्रक मामा कंसको संहार गर्नका लागि हो । आजको दिनबाट नै श्रीकृष्ण भगवानले यसलाई सुरुवात गर्नुभएको मानिन्छ ।
भागवत पुराणमा उल्लेख भएअनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा गरेका थिए । उनले यही यात्रामा कृष्ण र उहाँका दाइ बलरामको हत्या गर्ने योजना बनाएका थिए ।

आजकै दिन धार्मिक परम्पराअनुसार सूर्य देव र भगवान शिवको पनि पूजा गर्ने चलन रहेको छ । सूर्यलाई विभिन्न प्रकारका अर्घ्य दिने अनि प्रसादहरु चढाउने चलन पनि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१