Aamsanchar

पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटियाे, संकेत अशुभको

Author Image
शनिवार, पौष ३, २०७८

काठमाडौं –पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटिएको छ । मन्दिरमा बाँदरहरू चढ्ने, उफ्रने र हल्लाउने गरेकाले छत्रावली चोइटिएको हुन सक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले पुरानो पनि भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने जानकारी दिए । उनले भने, ‘अहिले खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको छ । मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको छ ।’ खट बाँधेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो ।

एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक दामोदर गौतमका अनुसार छत्रावलीको अवस्था र त्यसको मर्मत वा पूरै नयाँ बनाउनेबारे विज्ञसहितको टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । उनले मर्मत गर्दा हुने जानकारी कोषलाई गराएको बताए ।

कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइट अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ । पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु भएको छ । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ ।

संयोजक कार्कीले भाँचिएको पाता फेर्ने र सोही आसपासबाट पानी चुहिने ठाउँ पत्ता लगाउने काम भएको जानकारी दिए । विसेट नाइके अरुण विसेटले भने, ‘गजुरको मुनिको भागमा पानी नछिर्ने गरी तामाको किलाले ठोकी पाताहरू मिलाएका छौं ।’

कोषका सदस्यसचिव डा. थापाले भने, ‘कालीगढमार्फत् चोइटिएको छत्रावली मर्मत गर्ने काम भइरहेको छ । नयाँ बनाउनु परे सय वर्षसम्म केही नहुने गरी बनाउने योजना बनाए पनि मर्मतले हुने भएपछि काम अघि बढेको छ। केही दिनमै सम्पन्न हुनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)