Aamsanchar

आज उधौली पर्व (यस्तो छ किंवदन्ती)

Author Image
आइतवार, पौष ४, २०७८

किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उँधौली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगति अनि दुर्गति लगायत सुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उँधौली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ । किराँतहरूको धार्मिक पुस्तक मुन्धुमुमा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उँधौली ।

पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाइ तथा दिदी(बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक ‘साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।

‘सोई साई ला ……..’
‘हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खैरु’ भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरू एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरू देख्दा जस्तै नाच्न नजान्ने र बिरसिलो मान्छे भए पनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आउँछ आउँछ । महिलाहरूले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथि विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एक दिनका लागि तोकिए पनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौँको टुँडिखेल, इलाम, पाँचथर, तेह्रथुम लगायत देशका विभिन्न किराँतहरूको बाहुल्यता भएको ठाउँमा सार्वजनिक भेला अनि नाचगान हुने गर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती समुदायका साथीहरूले एक अर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भए पनि धेरै जना भेला हुने गर्दछन् ।

किराँतहरू भूमिका सन्तानहरू हुन्, यस समुदायमा भूमिको विशेष महत्त्व अनि आमा पृथ्वीको अद्भुत प्रेम पाइन्छ । आजको दिन पवित्र भूमि पूजाका रूपमा पनि लिइन्छ । भूमि अर्थात् माटोको श्रद्धाका साथ पूजा अर्चना गर्दै यस वर्षको अन्न कालागि भगवानलाई धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।

यसैबिच उँधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषा भाषी जो जहाँ रहेको भए पनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।

सम्पूर्ण नेपालीहरूको प्रिय मोबाइल सहयात्री अनि प्रविधिमार्फत नेपालीपनलाई एक सूत्रमा हरपल बाँधी राख्ने मोबाइल एप्लीकेशन ‘हाम्रो पात्रो’ को तर्फबाट सम्पूर्ण नेपालीहरूलाई उँधौली को शुभकामना । नेपाली माटो अथवा भनौ भूमि प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरूमार्फत सिक्न सक्नुपर्नेछ । जतिसुकै विकास अनि प्रविधि भए पनि पृथ्वीको अस्तित्वसँगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौँ, सबैमा शुभकामना !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)