Aamsanchar

परम्पराका धनी नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै

Author Image
आइतवार, पौष ४, २०७८

आज काठमाण्डौ उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछा कोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ योमरीलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ । योमरी कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरूलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारिक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा शदिऔंदेखि चलि आएको हो ।

नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरी पुन्हिका दिन पनि यससङ सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छस्

यस्मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्यस् छिं त्यस्, बकछिं त्यस्
लातापाता कुलिचां जुसें त्यस्।।।।

यस दिन केटाकेटीहरू रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्व कालदेखि हुँदै आएको पाइन्छ । योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँ खाले परिकारका रूपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरूलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर योमरी नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरी भन्नाले मनपर्ने रोटी भन्ने बुझाउँदछ ।

योमरीको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसारस् योमरी देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडी रहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 480

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१