Aamsanchar

पृथ्वी जयन्तीको अवसरमा गोरखा–काठमाडौ एकीकरण मार्गमा सेनाको पदयात्रा

Author Image
बुधवार, पौष २१, २०७८

नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान एकीकरण मार्ग पदयात्रामा निस्किएको हो ।

रिपुमर्दन गण गोरखाको आयोजना र गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिकाको सहकार्यमा ३ सय औँ पृथ्वी जयन्तीलाई लक्षित गर्दै सेनाले पदयात्रा सुरु गरेका हुन् । पदयात्रामा निस्किएका रिपुमर्दन दल गणका टोली कमाण्डरलाई मध्यकमाण्ड हेटक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिका मेयर राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टचलाईट सहित विदाई गरेका थिए ।

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मध्येकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी श्रेष्ठले नेपालको इतिहास जगेर्ना गर्न पदयात्रा सुरु गरेको बताए । ‘नेपाल एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहको योगदान जति पनि प्रशंसा गरे पनि पुग्दैन । उहाँको योगदानलाई उच्च मुल्याङकन र देशभक्ति भावलाई आत्मासात गर्दै इतिहासको संरक्षण र जगेर्ना गर्न एकीकरण मार्गमा पदयात्रा सुरु गरेका हौँ’ उनले भने ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट पैदल यात्रामा निस्कने उनले जानकारी दिए ।

गोरखाबाट पुर्व तर्फको एकीकरण पदयात्रा अभियानले निरन्तरता पाएको तर गोरखाबाट पश्चिम तर्फ को एकीकरण पदयात्रा अझै पनि सुरु हुन नसकेको समेत उनले बताए । यसलाई आगामी दिनमा पहल गर्ने नेपाली सेनाले गर्ने जनाएको छ ।

इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले देश र जनताका लागि वफादारीको साथ काम गर्दै आइरहेको बताउँदै राष्ट्रिय एकताको सन्देश दिन पदयात्रा सुरु गरिएको समेत उनले जानकारी दिए ।

नेपाली सेनाको पाँच प्रथम गण श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डा यात्रामा रहेका सेनाले बोकेका छन् । यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा स्थानीयले फुल मालाले स्वागत गरेका थिए ।

गोरखा दरबारको हनुमान चौताराबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुदै काठमाडौ सम्म हनुमान ढोकामा पुगेर टुङ्गिनेछ । पदयात्रामा सहभागी सैनिकहरु हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झण्डा धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछ ।

धादिङको शिव दल गणको टोलीले नुवाकोट र केहि दिनपछि नुवाकोटले काठमाण्डौलाई टर्च र झण्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ काठमाण्डौंको हनुमान ढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी प्रकाश परियारले बताए ।

कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले इतिहासलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हामी इतिहासलाई सम्मान गर्दै इतिहासका बाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने परिवेशमा हिजोका दिनमा इतिहास समाप्त पार्ने खेलका लाग्यो । त्यो गलत थियो भन्ने कुरा आज पुष्टि भएको छ । त्यो पुष्टी गर्दे लैजाने क्रममा पृथ्वीनारायण शाहको जन्म जयन्तीमा जुन कार्यक्रमहरु गरिन्थ्यो त्यो पनि बन्द भएको अवस्था थियो । हामीले प्रजातन्त्र ल्यायो गणतन्त्र ल्यायौँ, ल्याईसकेपछि त्यो ल्याउदा संघष गर्नेहरुलाई हामीले त्यो विर्सन प्रयास ग¥यौँ । त्यो गलत थियो भन्ने कुरा प्रमाणि भइसकेको छ ।’ त्यसैले हाल गोरखा नगरपालिकाको नेतृत्वमा तीन दिने पृथ्वी जयन्तीमा कार्यक्रम आयोजना गर्ने तयारीमा जुटिरहेका मेयर पन्तले जानकारी दिए ।

इतिहास कसैले मेटेर नमेटिने बताउदै हाल गोरखा नगरपालिका नाम पृथ्वीनारायण नगरपालिका राख्नुपर्ने मेयर पन्तले धारण व्यक्त गरेका थिए । ‘यो पालिकाको नाम फेरी पनि पृथ्वीनारायण नगरपालिका राख्नुपर्छ भनेर फेरी पनि आवाज उठन थालेका छन । यस अघि पनि पृथ्वी नारायण नगरपालिका बनाउनका लागि मेरो नेतृत्वमा मैले धेरै पहल कदमी पनि सुरुवात गरिसकेको छु’ उनले भने, ‘तर विडम्बना हाम्रो संविधानले जुन कुरा बालेको छ । संविधान जुन अधिकारको व्यवस्था गरेको छ । हामीसँग पर्याप्त त्यो प्रकृतिको दुई तिहासको बहुमत नभएका कारण गर्दा हामीले त्यो कार्य पुरा गर्न सकिरहेको छैन ।’

आगामी निर्वाचनमा पृथ्वीनारायण नगरपालिकाको नारा बोकेर आउने पार्टीलाई भोट दिन समेत उनले अनुरोध गरे । उनले भने, ‘अव स्थानीय चुनाव आउदै छ । भोलि पृथ्वीनारायण शाहको नामबाट यो नगरपालिकाको नाम राख्ने उद्देश्य जसले बोकेर हिड्छ, त्यसलाई दुई तिहाई बहुमत दिनका लागि हार्दिक आग्रह गर्न चाहान्छु ।’

एकीकरण पदमार्गको यात्रा गोररखाको पर्यटन क्षेत्रमा महत्वपुण कोसेढुङ्गाको रुपमा स्थापित हुदै गएको समेत उनले बताए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य एकीकरण मार्गमा पदयात्रा गर्नाले इतिहासको संरक्षण गर्नमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उनले भने, ‘एकीकरण मार्गमा पदयात्रा गर्नु यो गोरखाको मात्र गौरव नभएर यो हामी सम्पूण नेपालीहरुको अस्तित्व बचाउने, एउटा गौरव र आस्थाको केन्द्र हो । यहि आस्थाको केन्द्र बचाई राख्नका लागि नेपाली सेनाले जुन पदयात्रा गरिरहनु भएको छ, यसले इतिहासको संरक्षण र संवद्र्धन गर्न महत्वपुर्ण भूमिका रहन्छ । त्यसैले यसको सफलकताको शुभकामना व्यक्त गर्दछु ।’

नेपाली सेनाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने तत्कालीन समयमा राष्ट्रनिर्माण पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा हिडेको मार्ग पहिचान र संरक्षण गर्न विगत वर्षमा पनि पदयात्रा सुरु गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 468

प्रतिक्रिया (०)

सम्बन्धित खबर