Aamsanchar

श्री स्वस्थानी व्रत प्रारम्भ (पौराणिक मान्यता यस्तो)

Author Image
सोमवार, माघ ३, २०७८

सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।

हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रत कथाबारे थप कुरा उल्लेख गरौँ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।

वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यता क्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोशमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दु भएको दस्ताबेजहरूमा उल्लेख छन् ।

यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि’

श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।

प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।

स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

सतीदेवी दक्ष प्रजापतिकी छोरी हुन् । दक्ष प्रजापति यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतीदेवीकी पति आराध्य देव भगवान् महादेवको अपमान गर्छन् । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्नि कुण्डमा हाम फालेर देह त्याग गर्छिन् ।

सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भाव विह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अङ्गहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अङ्गहरू पतन भएका ठाउँहरू पछि शक्ति पीठका रूपमा चिनिन्छन् ।

सतीदेवीको शरीरको अन्तिम अंश झरेर गुह्येश्वरी शक्ति पीठ बनेको विश्वास गरिन्छ । त्यस्तै उनको कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको मानिन्छन् । जम्मु कश्मीरको त्रिसन्देशवर पीठमा सतीदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्गलादेशमा धेरै शक्ति पीठहरू अझै छन् । दैलेख जिल्लाको नाभि खोलाको तीरमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ । त्यो ठाउँमा परापूर्व कालदेखि ज्वाला बलिरहेको मन्दिर छ, जसलाई ज्वाला स्थान भनिन्छ ।

हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रत कथालाई सामाजिक मुद्दामा जोड्दै नारी समानताका सवालसहित व्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।

गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालविवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालविवाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजनन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित व्याख्या गरेको यो व्रत कथाले गणेशको शिर भेदन, संसारको सृष्टि अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत धेरै ठाउँमा नारी–पुरुषबिचको लैगिक समानताको वकालत पनि गरेको छ ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

हिउँदमा पूजा गरिएका नदी किनारहरूले वर्षामा सबैको रक्षा गरुन् । लैगिंक समानताका लहरहरू समाजमा साकार रूपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असीम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर