Aamsanchar

झुक्याउनसक्छ ओमिक्रोनले, कस्तो बेला परीक्षण गर्ने ?

Author Image
मङ्गलवार, माघ ४, २०७८

काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ को तेस्रो लहर शुरु भइसकेको छ। नोबल कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण यो संक्रमण झनै बढिरहेछ। अहिलेसम्म कम घातक तर बढी संक्रामक भनिएको यो भेरिएन्टको संक्रमणबाट देखिने लक्षण भने चिसोका कारण हुने रुघाखोकीसँग मिल्दोजुल्दो छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसमेत ओमिक्रोन भेरिएन्ट र सामान्य रुघाखोकीलाई लक्षणबाट मात्रै छुट्याउन गाह्रो पर्ने बताउँछन्।

सामान्य रुघाखोकी पनि भाइरसकै कारण हुने स्वास्थ्य समस्या हो। राइनो भाइरसको संक्रमणबाट हुन्छ यो समस्या।

डा. पुन भन्छन्, “ओमिक्रोन संक्रमणका लक्षण र सामान्य रुघाखोकीका लक्षण उस्तै छन्। कुनै व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा परेर लक्षण देखिए ओमिक्रोन भेरिएन्टको शंका गर्न सकिन्छ। नभए पीसीआर परीक्षण नगरी छुट्याउन गाह्रो छ।”

यसअघि दोस्रो लहर सिर्जना गरेको डेल्टा भेरिएन्टको संक्रमणबाट हुने लक्षण भने केही फरक थियो। गन्ध हराउने, श्वास प्रश्वासमा समस्या हुने भएकाले अनुमान लगाउन सहज हुन्थ्यो।

डा। पुनका अनुसार ओमिक्रोनको संक्रमण भएका व्यक्तिलाई सामान्यतः घाँटी दुख्ने, टाउको दुख्ने र थकित हुने जस्ता लक्षण देखापरेका छन्। त्यसैले कोरोना संक्रमणको जोखिम भएको स्थानमा अथवा धेरै व्यक्तिहरू संक्रमित भएको स्थानमा सहभागी भएपछि रुघाखोकिसँग मिल्दाजुल्दा लक्षण देखिए पनि ओमिक्रोनको संक्रमण भएको शंका गर्न सकिन्छ।

रुघाखोकी र ओमिक्रोनका संक्रमणका लक्षणका फरक यस्ता छन्ः

रुघाखोकीका लक्षण

सामान्य ज्वरो आउने
खोकि लाग्ने
घाँटी खसखस गर्ने
ओमिक्रोन संक्रमणको लक्षण

घाँटी दुख्ने
टाउको दुख्ने
ढाड दुख्ने
थकित महसुस हुने
शरीर मन्द तात्ने
वाकवाकी लाग्ने
पखाला लाग्ने
कस्तो अवस्थामा परीक्षण गर्ने ?
जाडो महीनामा प्रायजसोलाई रुघाखोकी हुने भएकाले परीक्षण नगर्ने गरेको डा। पुनको अनुभव छ। तर अहिले ओमिक्रोनको पनि उस्तै लक्षण भएकाले रुघाखोकी भनेर ढुक्क हुन नहुने उनको सुझाव छ।

“ओमिक्रोन धेरैमा सर्ने वा आक्रामक जस्तो देखिएको छ। यसको विशेषता नै यहि हो। जसका कारण ओमिक्रोन भाइरस लक्षणका आधारमा पत्ता लगाउन गाह्रो हुन्छ अर्थात झुक्काएर बसेको भन्न सकिन्छ”, डा. पुन भन्छन्, “डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन ७० प्रतिशत संख्यात्मक रूपमा सर्न सक्ने क्षमता (संक्रामक) भएको पुष्टि भएको छ।”

त्यसैले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरू संक्रमित भएका छन् भने कोरोना संक्रमण परिक्षण गराउनुपर्ने उनको सुझाव छ। भन्छन्, “कसैको घरमा भर्खर एक जनालाई संक्रमणको लक्षण देखिएको छ र उक्त घरमा कोभिड खोप नलगाएको वा जेष्ठ नागरिक भएमा परीक्षण गराउनु उपयुक्त हुन्छ।”  नेपाल भ्युजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर