Aamsanchar

झापा प्रशासनद्वारा पम्प र ग्यास उद्योगको आकस्मिक अनुगमन

Author Image
शुक्रवार, फागुन १३, २०७८

झापा : झापाका ठूला उद्योग तथा कलकारखानामा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका औद्योगिक क्षेत्रमा आगलागी बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च जोखिम र प्रज्वलनशील पदार्थ उत्पादन हुने उद्योग तथा कलकारखानाको अवस्था बुझ्न स्थलगत अनुगमनलाई तीव्रता दिएको छ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको नेतृत्वमा गएको टोलीले शुक्रबार भद्रपुरका पेट्रोल पम्प र ग्यास उद्योगको आकस्मिक अनुगमन गरेको छ। टोलीले भद्रपुर-६ स्थित पराजुली ब्रदर्श एन्ड ग्यास इण्डष्ट्रिजबाट उत्पादित पराजुली ग्यास र सन्तोष ट्रेडिङ्ग पेट्रोल पम्पको अनुगमन गरेको हो।

उद्योगमा स्वास्थ्य सुरक्षाको अवस्था, आगलागीबाट जोगिने उपाय, उत्पादनको गुणस्तर तथा बिक्रीवितरणको समेत अनुगमन गरिएको सहायक प्रजिअ न्यौपानेले बताए। भद्रपुरबाट शुरु गरिएको यो अनुगमन जिल्लाका अन्य ठूला उद्योगमा पनि गरिने उनले बताए। अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम चारआली, झापा उद्योग वाणिज्य संघ भद्रपुर र नेपाल प्रहरीको समेत संलग्न रहेका थिए।

माघ २९ गते मेचीनगर-१४ दुहागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग)मा भीषण आगलागी भएको थियो। आगलागीबाट ४७ करोड रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। माघ २० गते मेचीनगर–६ काँकडभिट्टाको एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको थियो। विद्युत् सर्ट भएर लागेको आगोबाट ९ करोडको क्षति भएको थियो।

वैशाख २० गते मेचीनगर–१५ ज्यामिरगढीको पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा पनि आगलागी भएको थियो। सो उद्योगमा आगलागी हुँदा १५ करोड रूपैयाँभन्दा बढीको क्षति भएको थियो।

आज (शुक्रबार) मात्र पर्यटकीय स्थल शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठा भएको एकतले भवनमा बिजुली चुहावट भई आगलागी भएको थियो। आगलागीबाट केही होटल जलेर खरानी भएका छन्। २ जना घाइतेसमेत भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर