Aamsanchar

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको निधन

Author Image
सोमवार, वैशाख १२, २०७९

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको एक सय १९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले आज सोमवार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको एक सय १९ वर्षकाे उमेरमा निधन भएको हो ।

उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नर्सिङ होममा रहँदा उहाँ बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरू खाने गर्नुहुन्थ्यो । उहाँ वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसाय चलाउनु भएको थियो ।

उहाँले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गर्नु भएको थियो । उहाँले चार सन्तान जन्माउनु भएको थियो । खेलकुदमा निकै रूचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गर्नु भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण उहाँलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा उहाँको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उहाँले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुसीको क्षण भएको बताउनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर