Aamsanchar

भिडियो बनाएर आफ्नो च्यानलमा राख्नकै लागि युटुबरले विमान दुर्घटना गराएपछि ….

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

वासिङटन –भिडियो बनाएर आफ्नो च्यानलमा राख्नकै लागि एक युटुबरले २०२१ मा जानीजानी विमान दुर्घटना गराएको अमेरिकाको संघीय उडान विभाग, एफएएले बताएको छ । ट्रेभर जेकब नाम गरेका युटुबरले आफ्नो च्यानलमा दर्शक बढाउन यस्तो गरेको पत्ता लागेपछि विभागले अहिले अनुसन्धान थालेको छ ।

१ लाख ३४ हजार सस्क्राइबर रहेको उनको च्यानलमा राखिएको विमान दुर्घटनाको सो भिडियो डिसेम्बरमा पोस्ट भएदेखि २० लाख पटक हेरिएको छ ।

युटुबर जेकब वास्तवमा स्नोबोर्डका खेलाडी पनि हुन् र ओलम्पिक्समा समेत सहभागीता जनाएका थिए । तर विमान दुर्घटनापछि भने उनीमाथि अनुसन्धान थालिएको छ । सो विमान २०२१ नोभेम्बर २४ का दिन लस पेड्रेस राष्ट्रिय वन क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

एफएएका अनुसार अनुसन्धानका क्रममा उडान भन्दा अगाडि जेकबले सो विमानको बाहिरपट्टी थुप्रै क्यामरा जडान गरेका थिए जसमा सबै क्यामरा अगाडि प्रोपेलरतर्फ फर्काइएको थियो । यसले उडानको क्रममा विमान भित्र र बाहिर दुवै तर्फको भिडियो लिन सक्छ ।

यसमा जेकबले विमानको इन्जिन फेल भएका कारण आफूले विमानबाट हाम फालेको दाबी गरेका थिए । तर उनले इन्जिन फेरि सुरु गर्ने कुनै प्रयास गरेका छैनन् न कतै नजिकी खुला ठाउँमा अवतरण गर्न खोजेका छन् । यति मात्र नभएर उनले ट्राफिक कन्ट्रोललाई समेत आपत्कालीन फ्रिक्वेन्सीमा कुनै सम्पर्कको प्रयास नगरेको एफएएले जनाएको छ । उनले केबल इन्जिन फेल भयो भन्दै प्यारासुट लगाएर हाम फालेको भिडियोमा देख्न सकिन्छ ।

जेकबलाई अनुसन्धान विभागले लेखेको पत्रमा भनिएको छ, “तपाईँ हातमा सेल्फि स्टिक बोकेर विमानबाट हाम फाल्नुहुन्छ र कोही नभएको विमानको उडान रेकर्ड गरिरहनुहुन्छ । दुर्घटनापछि तपाईँ उठेर दुर्घटनाग्रस्त ठाउँमा गइ क्यामरा लिएर जानुहुन्छ । यसको अर्थ के हो ? ”

यस्तोमा एफएएले जेकबलाई एकदमै गैरजिम्मेवार र लापरबाहीपूर्ण हर्कत भनेर निन्दा गरेको छ भने यसले कसैको सम्पति या जीवनमै क्षति पुर्याउने खतरा भएकाले उनको निजी पाइलट लाइसेन्स रद्द गरिदिएको छ ।

विमान दर्घटनाको सो भिडियो जेकबको च्यानलको सबैभन्दा धेरै हेरिएको भिडियो हो । यसपछि उनले आफ्नो च्यानलमा एउटा मात्र भिडियो अपलोड गरेका छन् । उनले प्रायः युट्युबमा स्काइडाइभिङ, स्नोबोर्डिङ लगायतका अधिक जोखिमपूर्ण खेलहरुको भिडियो राख्ने गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर