Aamsanchar

एशिया छनोटका लागि मलेसिया जाने नेपाली यू–१९ टोलीकाे बिदाई

Author Image
मङ्गलवार, जेठ १७, २०७९

काठमाडौं : आइसिसी यू–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यू–१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार कार्यक्रम आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाई गरेको छ।

बिदाईपछि नेपाली टोलीकी कप्तान कृतिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यसाथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदै छौं। एक महिना लामो अभ्यासअन्तर्गत हामीले राम्रो तयारी गरेका छौं। राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौं।’

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त छन्। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए।

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मिहिनेत हामीले गरेका छौं। राम्रो नतिजा निकाल्नेमा आशावादी छौं। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ।’

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन्। नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको शुरुवात गर्नेछ।

नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ। नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ। शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 412

प्रतिक्रिया (०)

सम्बन्धित खबर