Aamsanchar

‘चित्त र वृत्तिको निरोध नै योग हो’

Author Image
मङ्गलवार, असार ७, २०७९

अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्ययता जस्ता योगका अनेकौँ आयाम छन् ।

अभौतिक सांस्कृतिक सम्पदाको रूपमा योगसुत्र
हजारौँ वर्ष पहिले पतञ्जलि नामका महात्माले सुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौँ । पतञ्जलिको योग अभ्यासका सूत्रहरू विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान विधिका रूपमा प्रयोग गरेका थिए र १९ औँ शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउन कालागि भएको योगदान महत्त्वपूर्ण छ । मुस्लिम समुदायमा समेत यसलाई योग सूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ ।

योग सूत्रको श्रेय आदि योगी भगवान् शिवलाई मानिन्छ । शिवबाट सुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरु मार्फत् पुस्तौँ पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान् शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मूर्ति विश्व प्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योग शास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान् श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सन् २०१६ बाट दर्ता गरेको छ ।

विश्व योग दिवसको पृष्ठभूमि
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ, राष्ट्र सङ्घको बैठकहरूमा कुनै दिवसका लागि यतिका समर्थन अहिलेसम्म प्राप्त भएको इतिहास थिएन । र १७७ देशहरूको समर्थन र सहभागितामा सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । योग दिवस मनाउने अभियानका क्रममा भारतका बिश्वप्रसिद्ध योगी र शिव साधक जग्गी वुसुदेव अर्थात् सद्गुरुको संयुक्त राष्ट्र सङ्घमा भएको वार्तालाप र प्रश्नोत्तरलाई पनि ठुलो श्रेय दिइन्छ ।

नेपालमा योग को प्रवर्धन
विसं २०४८ चैत १५ गतेदेखि काठमाडौँको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो र यसको मुख्य उद्देश्य चाहिँ आयुर्वेदलाई योगसँग जोडेर शीघ्र स्वास्थलाभ र नैरोग्यताको बिगुल फुक्नु नै थियो । यसपछि काठमाडौँ बाहिर को विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गर्न विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी सुरुवात भयो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसा पूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई ६ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएको छ । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सुरु हुन सकेको छैन । आजका दिन हामी योग अध्ययनलाई पनि जीवनको लक्ष्य बनाएर अघि बढ्न युवापुस्तालाई आव्हान गर्न चाहन्छौँ ।

हिमवत्खण्ड प्राचीन कालदेखि ऋषिमुनिहरुको तपो भूमिका रूपमा रहेकाले नेपाल लाई योगको उद्गमस्थल मानिन्छ । योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वास्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आजका दिन आग्रह गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर