Aamsanchar

इमा राडुकानु विम्बल्डनको दोस्रो चरणमा

Author Image
मङ्गलवार, असार १४, २०७९

काठमाडौं – बेलायतकी युवा टेनिस खेलाडी इमा राडुकानु सोमबार राति बेल्जियमकी एलिसन भान उटभान्कलाई २–० को सोझो सेटमा हराउँदै विम्बल्डनको दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छिन् ।

बेलायतकी नम्बर एक १९ वर्षिया राडुकानुको प्रतियोगिता अघि ‘साइड स्ट्रेन’मा समस्या देखिएको थियो । जसका कारण उनले विम्बल्डनका लागि ‘वार्मअप’ मानिएको प्रतियोगिता नटिङ्घम ओपन बीचमै छाडेकी थिइन् । पहिले खेलको पहिलो सेटमा स्वीट्जरल्यान्डकी भिक्टोरिजा गोलुबिकविरुद्ध ४–३ ले पछि परेको स्थितमा राडुकानु घाइते भएकी थिइन् ।

तर, सोमबार राति राडुकानु उत्कृष्ट लयमा देखिएकी थिइन् । घरेलु दर्शकको साथ पाएकी राडुकानुले उटभान्कलाई ६–४, ६–४ को सेटमा हराएकी थिइन् ।

‘‘विम्बल्डनमा फर्किएर आउँदा एकदम विशेष अनुभुति भएको छ,’’ यूएस ओपन विजेता राडुकानुले भनिन्, ‘‘मैले यहाँ हरेक पाइलामा समर्थकको साथ पाएको छु । मलाई कठिन परिस्थितिमा पनि साथ दिनुहुने सबै समर्थकहरुलाई धन्यवाद ।’’

गत वर्ष विम्बल्डनमा राडुकानुले चौथो चरणसम्मको यात्रा तय गरेकी थिइन् । त्यसपछि यूएस ओपनको उपाधि जितेकी राडुकानुले यस वर्ष भने अपेक्षाकृत प्रदर्शन गर्न सकेकी छैनन् । १०औं वरीयाता प्राप्त राडुकानु अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन दुबैमा दोस्रो चरणबाट बाहिरिएकी थिइन् ।

राडुकानुले अब दोस्रो चरणमा फ्रान्सकी क्यारोलिन गार्सियाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । गार्सियाले बेलायतकै युरिको मियाजाकीलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन् । २८ वर्षिया गार्सियाले ‘वाइल्ड कार्ड इन्ट्री’ पाएकी २६ वर्षिया मियाजाकीलाई ४–६, ६–१, ७–६(१०/४)को स्कोरमा पराजित गरेकी थिइन् ।

जाबेउर पनि विजयी

तेस्रो वरीयाताप्राप्त अन्स जाबेउरले स्विडेनकी मिरयम बोर्कलन्डमाथि २–० को सोझो सेटमा विजय हासिल गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छिन् । करिअरकै उच्च वरीयातामा रहेन सफल ट्युनेसियाकी जाबेउरले ६–१, ६–३ को स्कोरमा विजय हासिल गरेकी हुन् ।

२७ वर्षिया जाबेउरले अब पोल्यान्डकी काटर्जिना कावाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । २९ वर्षिया कावाले पहिलो चरणमा क्यानडाकी रेबेका मारिनो ६–४, ३–६, ७–५ को सेटमा हराएकी थिइन् ।

दोस्रो वरीयाताप्राप्त एनेट कोन्टाभिएट र पूर्व विजेता एन्जेलिक केरबेरले पनि दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन् । सातौं वरीयाताप्राप्त ड्यानियल कोलिन्स भने प्रतियागिताको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

अष्ट्रेलियन ओपनमा उपविजेता रहेही कोलिन्स प्रतियोगिताको पहिलो दिनमै पराजित हुने सबैभन्दा शीर्ष वरीयाताकी खेलाडी बनिन् । अमेरिकाकी कोलिन्स मारि बौजकोभासँग ५–७, ६–४, ६–४ को स्कोरमा पराजित भएकी हुन् ।

दोस्रो वरीयाताप्राप्त स्टोनियाकी कोन्टाभिएटले अमेरिकाकी बर्नार्डा पेरालाई ७–५, ६–१ को स्कोरमा पराजित गरेकी हुन् । त्यस्तै २०१८ को विजेता जर्मनीकी केरबेरले फ्रान्सकी क्रिष्टिना लाडेनोभिकलाई ६–०, ७–५ को स्कोरमा हराएकी हुन् ।

विम्बल्डनमा डेब्यू गरेकी पोल्यान्डकी माहा चवलिन्स्कालाई चेक गणतन्त्रकी क्याटरिना सिनिकोभालाई ६–०, ७–५ को स्कोरमा हराइन् । बलियो प्रतिद्वन्द्वी मानिएको ब्राजिलकी बिट्रिज हदाद माइया स्लोभेनियाकी काजा युवानसँग ६–४, ४–६, ६–२ को स्कोरमा पराजित भइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर