Aamsanchar

ताप्लेजुङकाे पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप

Author Image
शनिवार, असार ३२, २०७९

ताप्लेजुङ – पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो । असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो ।

कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना थिएन । चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख थियो । यो अवधिमा संरचना निर्माण नै सुरु नभएकाले कार्यविधिमा थप व्यवस्था गर्नुपरेको न्यौपानेले बताए । संशोधित कार्यविधिमा नगरपालिकालाई हरेक वर्ष १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने उल्लेख छ ।

कम्पनीले तीन वर्षका लागि एकै पटक ४ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएकाले थप तीन वर्ष म्याद दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए । निर्वाचित भएपछि कार्यविधि बनाएर पहिलो पटक अनुमति दिएका तत्कालीन नगरप्रमुख छत्रपति प्याकुरेल समयमा काम नभएको भन्दै असन्तुष्ट बनेका थिए । उनले नवीकरण नगर्ने घोषणा पनि गरेका थिए । पहिलो पटक अनुमति लिँदा कम्पनीले १२ लाख रुपैयाँ राजस्व तिरेको थियो ।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट अमिर मादेन निर्वाचित भएपछि कार्यविधि संशोधन गरेका हुन् । प्रवक्ता न्यौपानेका अनुसार कार्यपालिकाले निर्णय गरेकै दिन नगर प्रमुख मादेनले प्रमाणित गरेका थिए । ३० गते राजपत्रमा प्रकाशित भएको र त्यही दिन राजस्व बुझाएपछि आफूले नवीकरण गरेको रिमालले बताए । ३ अर्ब रुपैयाँको लागतमा हुने निर्माणको मुक्कुमलुङ संघर्ष समितिलगायतका कतिपय संघसंस्थाले विरोध गरिरहेका छन् । मन्दिर परिसरभित्र संरचना बनाउन नहुने, किरातीहरुको मुन्धुक स्थल भएकाले केवलकार निर्माण गर्न आवश्यक नरहेकोजस्ता मुद्दा उनीहरुका छन् । नेपाल सरकारले भने केवलकार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । एमालेका केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला निर्णय भएको हो ।

कम्पनीले पनि सट्टा भर्नामा १ सय ८ रोपनी जग्गा सरकारको नाममा रजिस्ट्रेसन गरिसकेको छ । सामुदायिक वनको जग्गा प्रयोग गरेबापत त्यत्ति नै जग्गा नेपाल सरकारलाई बुझाउनु पर्ने कानुनी प्रावधान छ । केवलकार निर्माण हुने क्षेत्रमा स्वायल टेष्टको काम भइरहेको केवलकार कम्पनीका निर्देशक ईश्वरी पौडेलले बताए । ११ वटा पोलका लागि गर्नुपर्ने परीक्षणमध्ये ७ वटाको सकिएको हो । अब यहाँका रुख पन्साउने लगायतका काम हुने कम्पनीले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार साना ठूला गरी एक हजारको हाराहारीमा रुख हटाउनु पर्छ ।

काफ्ले पाटीमा स्टेशन राख्ने केवलकारको मन्दिरसम्मको दुरी २.७ किलोमिटरको हुनेछ । पौडेलका अनुसार सुरु गरेको १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । एक घण्टामा एक हजार जना यात्रु आउजाउ गर्न सक्ने यहाँ प्रयोग गरिने लट्ठा, डब्बा लगायतका सामग्री अष्ट्रियाको कम्पनीले व्यवस्था गर्ने कम्पनीले जनाएको छ । इबिडिङमा फ्रान्स, जापान र अस्ट्रिलियाका कम्पनीले आवेदन दिएका थिए । छनौटमा परेको यही कम्पनीले निर्माणको नेतृत्व गर्ने प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर