बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी नेकपा का संस्थापक सदस्य नरबहादुर कर्माचार्य को ९ औं स्मृति दिवस बिर्तामोडमा मनाइएको छ ।
नरबहादुर कर्माचार्य स्मृति बहु प्राविधिक शिक्षालय बिर्तामोडको आयोजनामा आज बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा खाद्य सामग्री बितरण र स्व. कर्माचार्यले पाटी गठन गर्न गरेको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको थियो ।
आयोजक संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सञ्चारमन्त्री झापा क्षेत्र नंं १ का प्रतिनिधिसभा सासंद राम कार्की (पार्थ) को प्रमुख आतिथ्यता रहेको थियो ।
२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।
कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।
कर्मचार्य मृत्यु हुनु पूर्व नेकपा माओवादी निकट नेता बनेर काम गरेको संस्थाका कोषाध्यक्ष प्रकाश भट्टराईले जानकारी थिए ।
तत्कालीन राणा शासनको विरुद्धमा र नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्न भनेर आफ्नो सम्पूर्ण जीवन पार्टीमा समर्पित गरेका कर्माचार्य ले विवाह पनि गरेका थिएनन् । एक इमानदार, सादगी नेताको रुपमा परिचित कर्माचार्यको नाममा झापाको बिर्तामोडमा बहु प्राविधिक शिक्षालय स्थापना गरिएको छ । २०७६ सालमा स्थापना भएको शिक्षालयमा ३ बर्षे बाली, पशु र वन वातावरण विषयको प्राविधिक कक्षा सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । शिक्षालयले आगामी वर्षमा होटल म्यानेजमेन्ट र फार्मेसी विषय पनि सुरु गर्ने तयारी गरेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले कम्युनिष्टको सरकार भएको ठाउँमा वृद्ध आश्रम हुनु राम्रो कुरा होइन, स्थानीय सरकारले भएका आश्रमलाई व्यवस्थापनमा सहयोग गर्नुपर्ने हुन्छ । नयाँ पुस्तालाई समाज सेवाको बारेमा जानकारी गराउन नगरका विद्यालयका विद्यार्थीहरूलाई बिदाको दिन पारेर वर्षमा कम्तिमा २० घण्टा समाजिक कार्यमा लगाउनु पर्ने तर्क राखेका थिए । कार्कीले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्ध आश्रमका लागि एक थान रेडियो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।