Aamsanchar

आज पुत्रदा एकादशी व्रत

Author Image
सोमवार, साउन २३, २०७९

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।

पुत्रदा एकादशी व्रत कथा
धर्मशास्त्रहरू अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे । जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको महात्मै महत्त्वपूर्ण मानिन्छ ।

पुत्रदा एकादशीमा के गरिन्छ ?
यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ । बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर