Aamsanchar

जितिया पर्वलाई सुन्नु र बुझ्नुका फरक तथ्य

Author Image
आइतवार, असोज २, २०७९

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् । यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् । महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

व्रतकथा
एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो । उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो । त्यही किनारमा एउटा पाखरको रुख थियो, जसमा पोथी चील चरा बस्थी । जसको रुखमुनि पोथी स्यालको बास थियो । उनीहरू दुवै साथी–साथी भए । एकदिन गाउँका अरु महिलाहरूले जस्तै उनीहरूले पनि भगवान जीतमहान गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे ।

तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडियो । चीलले अरु महिलाहरू झैं व्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन् ।

चील अब शिलवती नामकी व्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलायकेतुसँग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुखी र निराश हुन्छिन् । शिलवतीका छोराहरूले राजा मलायाकेतु कहाँ काम गर्न थाल्छन् ।

ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ती सातै जना शिलवती पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षडयन्त्र गर्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ । ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरिएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयभित अनि रुवावासी भइरहेको होला भनी एकजना सेविकालाई बुझ्न पठाउँछिन् । तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन् ।

दिदीको खुशी सहन नसकी अव कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भएपनि भगवान जीतमहान गोँसाईको व्रत बसेकी थिइन् । यो प्रसंग शिलवतीले बहिनीलाई भन्छिन् । यो सुनेर बहिनी कपुरवती बेहोस् हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीका रक्षका लागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

विशेषतः तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रीत अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमीसम्म गरी तीन दिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई–खाई अर्थात् एकाबिहानै उठी नजिकको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । आमाहरूले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्छन् ।

दोश्रो दिन जीवित पुत्रीकाको दिन ‘अष्टमी’ र यस दिनलाई ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तराईका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलाई विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ । तिथि मितिमा तलमाथि परे अथवा एउटै तिथि दुइै दिन परेमा कहिलेकाहीँ आमाहरूले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

त्यसैगरी थारु समुदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई विजय अर्थात् जितका रूपमा लिँदै नवलपरासी अनि चितवनका महिलाहरूले तीन दिनसम्म महत्वका साथ जितिया मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ ।
झ्याम्टा नाच

प्रकृतिको अर्चना पनि थारु समुदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समुदायले जितियामा नाँच्ने नाचलाई ‘झ्याम्टा’ भनिन्छ । यो समुदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ, जसलाई ‘जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरूले गाउने एउटा अर्को पारम्परिक विशेष गीत छ, जसलाई ‘दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनि सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।

थारु समुदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरू उखेलेर गाउँको बीचमा गाईको गोबरले लिपेर राखिन्छ । यसरी लिपेर तयार पारिएको ठाउँलाई ‘थाट’ भनिन्छ । बहुभाषिक अनि बहुसंस्कृतियुक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समुदाय, भाषा अनि संस्कृति मान्नेहरूलाई एकै थलोमा भेला पार्छ ।

अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको ‘झोर भात’ अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडुवा’ अर्थात् कोदोको रोटी हो ।

खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुन सक्ला, तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर