Aamsanchar

पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुसमा प्रदर्शन

Author Image
बिहिवार, असोज ६, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रसमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागी एक हजारभन्दा धेरैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।

जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् । एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक भएका जनाएको छ । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली सङ्घबीचको उडान बन्द भएको थियो ।

आक्रमणपछि रुसले कब्जा गरेका केही क्षेत्र युक्रेनले पुनः आफ्नो नियन्त्रणमा लिएसँगै पुटिनले सेना परिचालनको आदेश दिनुभएको हो । अहिले जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइएको छ । रुसमा झण्डै २० लाख जगेडा सेना रहेको अनुमान छ । तर अहिले तीन लाख सेना परिचालन हुने रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई उद्धृत गरी बीबीसीले जनाएको छ।

रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा रुससँग गाभिने विषयमा जनमत सङ्ग्रहको घोषणा भएलगत्तै पुटिनले सेना परिचालनको कदम चाल्नुभएको हो । पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा भोलिदेखि पाँच दिन मतदान गर्ने योजना बनेको छ । ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसले सन् २०१४ मा क्राइमिया आफूमा गाभेको थियो । र त्यतिबेला रुसले गराएको मतदानको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो । अहिले पनि पश्चिमी देशहरुले रुसको योजना तथा युक्रेन आक्रमणलाई लिएर आलोचना गर्दै आएका छन् । अमेरिका, जर्मनी र फ्रान्सले मतदानको नतिजालाई कहिल्यै मान्यता नदिने बताएका छन् । त्यस्तै नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर