Aamsanchar

गाई, गोबर र लक्ष्मीपूजाको महत्व 

Author Image
आइतवार, कार्तिक ६, २०७९


हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।

राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ ।

सुख रात्रि
सुख रात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यी चार रात्रिहरू वर्षका फरक फरक दिनमा पर्दछन् ।

चार रात्रिहरू
पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बन्धित भगवान् श्रीकृष्णको जन्माष्टमीको रात हो जसलाई मोहरात्री पनि भनिन्छ । मोह रात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ ।

दोस्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्रि पनि भनिन्छ, यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ ।
तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुख रात्रि चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि । आज चाँही सुख रात्रि, यस वर्षको सुख रात्रिको सबैलाई शुभकामना छ ।

‘भैलिनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँसीको बारो, गाईतिहारो भैलो’

आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माता’ को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 1138

प्रतिक्रिया (०)

सम्बन्धित खबर