Aamsanchar

संस्कृति संरक्षणमा हरिकुलको प्रयास,  देउसी भैलो प्रतियोगितामा कनकाई माविका विद्यार्थी समूह प्रथम

Author Image
मङ्गलवार, कार्तिक ८, २०७९

कनकाई । तिहारको अवसर पारेर झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा स्थित  श्री हरिकुल नमूना माध्यमिक विद्यालयको आयोजनामा खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोशन केसीले स्वागत गरेका थिए भने विद्यार्थी सन्ध्या ठटालले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कनकाई –३ का वडाध्यक्ष युवराज चम्लागाईं, प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बा , कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेम ओलीलगायतले निजी विद्यालयहरूले विद्यार्थीलाई मौलिक कला संस्कृतिबारे नसिकाएको कतिपय अभिभावकहरूको आरोप रहेकोमा श्री हरिकुलले खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिता आयोजना गरेर  मौलिक  कला संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न लागिपरेको भन्दै प्रशंसा गरेका थिए ।

खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगितामा कनकाई माविका विद्यार्थीको समूह प्रथम भयो । मौलिक  देउसी – भैलो प्रस्तुत गरेको विद्यार्थीको समूहले  इ सेवा प्रालिले प्रायोजन गरेको नगद २० हजार , ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्यो । प्रतियोगितामा दोश्रो पुरस्कार शान्ति समूह इलुवाबारी महिलाले हात पारे । सँगिनी नृत्यसहित देउसी – भैलो प्रस्तुत गरेका उनीहरूले कनकाई नगरपालिकाले प्रायोजन गरेको नगद १५ हजार , ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यस्तै कनकाई –३ का शिव शान्ति टोल समूहका महिलाले तेश्रो पुरस्कार हात पारे ।

मौलिक देउसी – भैलो सहित नृत्य प्रस्तुत गरेका उनीहरूले मंगलदिप अगरबत्तीले प्रायोजन गरेको १५ हजार , ट्रफी र गिफ्ट ह्याम्पर मंगलदिप अगरबत्तीको डिस्ट्रिब्युटर्स पंकज खड्काले प्रदान गरे । त्यस्तै सान्त्वना पुरस्कार संघर्ष व्याण्डका यूवा समुहले प्राप्त गर्यो । मौलिक  देउसी – भैलो सहित सुगम गीत संगीत प्रस्तुत गरेका उनीहरूलाई समाजसेवी डिल्लीराम कडरियाले प्रायोजन गरेको गिफ्ट ह्याम्पर ज्योति कडरियाले प्रदान गरिन् । खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्देशक दिनेशराज शर्मा, संगीतकार तथा गायक मणि बर्देवा र नृत्य निर्देशक विजय कन्दङ्वा लिम्वू रहेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक सन्दिप मरासनी र श्रृजन श्रेष्ठले गरेका थिए । सोही कार्यक्रम पछि द कल वे्रकर्स ब्याण्डको प्रस्तुतिमा लाइभ कन्सर्ट गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर