Aamsanchar

भाइटीकाका विषयमा जनउक्ति, टीकाको उत्तम साइत ?

Author Image
बुधवार, कार्तिक ९, २०७९

भाइ टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ ।

घर-घरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टिका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ कि ?

हिजोसम्म त बजारहरू नै फुल र मालाले पहेंलपुर थिए, किनमेल भयो त ?
सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई , मरमसला लगायतका खानेकुराहरू सहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ ।

भाइटिकाका विषयमा जनउक्ति

भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ : एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिका टालो नसकिन्जेलसम्म पर्खिन भन्छिन् र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टिका टालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशी भएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टिका लाउँदा  बहिनीले वरदानस्वरूप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटीकाको चलन चलिआएको किम्वदन्ती रहेको छ ।

दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीबहिनीसँग टिका लगाउँछन् । टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न का लागि भुईँमा चकटी ओच्छ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेलपानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदै कलशको पानीलाई दूबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा एक प्रकारको ठुलो कागती प्रजातिको फल को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दीर्घायुको कामना गर्ने चलन छ ।

शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टी लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्छन्

आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ ।

कहाँ कहाँ मनाइन्छ भाइ टीका ?

लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदै छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आआफ्नै तरिकाले मनाउने चलन छ । भ्रातृत्व अनि आत्मियताको आजको दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ । यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ । दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट विदाईले साह्रै नरमाइलो पनि हुन्छ । पूर्वीय बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छ, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर