Aamsanchar

एमालेलाई एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ : ओली

Author Image
बिहिवार, कार्तिक १७, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँ–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यसपटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताएका हुन् ।

उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकिर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने जिकिर गरे ।

उनले भने, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम् कदाचित यिनै मान्छेहरू, यिनीहरू अहिले जनताले छानेका होइनन्, संसद्ले छानेको होइन, यी परमादेश लिएर जाली किर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली, किर्तेहरूले जित्ने हो नि । यी त जालीकिर्ते हुन् । सरकार बनाउने संसद्को कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसद्को के काम ?  प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यस दिनयता अदालत बेहाल अवस्थामा छ ।’

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमालेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे ।

उनले यतिबेला देशविरोधी तत्त्वहरू सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए । उनले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र काठमाडौँमा पुनः निर्माण गरिएको धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर