Aamsanchar

आज नयाँ धानको चामल र चिउरा खाने दिन

Author Image
बिहिवार, मंसिर १, २०७९

आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ ।

छोटा दिनहरू र लामा राताहरू
अब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ ।

बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् ।

चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी । चिसो लाग्न सक्ने भएकाले अब हामीले आफ्नो स्वास्थ्यको पनि विशेष चासो दिनुपर्छ, टोपी, पन्जा, मोजा तथा न्याना कपडाहरू हामीले अब दराजमा थन्काएका थियौँ भने निकाल्नुपर्छ । सिरक र ब्ल्याङ्केटको जोहो पनि त हामीले गरिसकेका छौँ होला । त्यसलाई पनि अब प्रयोग गर्न निकाल्नुपर्छ, जाडो रातलाई न्यानो बनाउनुपर्छ ।

मङ्सिर को महिना सुरु भएसँगै हाम्रो घर आँगनमा केही उत्सवहरू पनि आउँछन् । धेरै पहिलेदेखि यही मङ्सिर को महिनामा हुने विवाहलाई लक्षित गरेर नेपालमा अनेक गीत पनि बनेका छन्, गाइएका छन् । विवाह र व्रतबन्धजस्ता सनातनी संस्कारका लागि सबैभन्दा उपयुक्त महिना मङ्सिर मानिन्छ । त्यसैले त मंसिरमा विवाहका साइतहरू हुन्छन् । अनि विवाहका लागि चाहिने गरगहना, कपडाहरू किन्नेको भीड पनि बजारमा देख्न सकिन्छ । विवाह र व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि सबैभन्दा उत्तम महिनाका रूपमा पनि मङ्सिर लाही लिइन्छ । वैदिक सनातन हिन्दुहरूका लागि त्यसैले पनि शुभ साइतको राजाका रूपमा लिइन्छ मङ्सिर लाही ।

मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ 
एकातिर यस्ता साइतहरू हुने भएकाले मङ्सिर लाही शुभ साइतको महिना भनिन्छ भने आजकै दिनदेखि सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ । त्यसैले मङ्सिर संक्रान्तिलाई वृश्चिक सङ्क्रान्ति पनि भनिन्छ । हाम्रो पात्रोअनुसार यो मङ्सिर सङ्क्रान्ति आठौँ सङ्क्रान्ति हो ।

मङ्सिर को यो संक्रान्तिलाई कृषि कार्यका लागि पनि विशेष मानिन्छ । किनकि साउने संक्रान्तिदेखि रोपिएको मिहिनेतको फल अर्थात् रोपाइँपछिको फल अब घरघरमा भित्र्याउने बेला भएको छ । खेतमा लहलह झुलेका धानका बाला हेर्दा यसै पनि मनमोहक देखिन्छ । सुनजस्तै फलेको धानलाई काटेर नीनमा सुकाएपछि अब बिस्तारै कुन्यू पनि लगाइन्छ । नेपालमा कतिपय ठाउँमा त धान काटेर पनि सकियो होला, कतिपय ठाउँमा यस वर्षको नयाँ धानको चामलमा दही मिसाएर न्वागी पनि आजकै दिन खाइन्छ ।

नयाँ धानको चामल, नयाँ धानको चिउरा
नयाँ धानको चामल, नयाँ धानको चिउरा कुट्ने प्रचलन पनि नेपाली समाजमा रहेको छ । आजको दिन नयाँ धान भित्र्याउने ठाउँमा वा भूमि पाथी पूजा गर्ने दिन पनि हो ।

नेपाल एकीकरणको घोषणा
आजको दिन नेपालका लागि अर्को ऐतिहासिक दिन पनि हो । आजकै दिन नेपाल एकीकरणका नायक राष्ट्रनायक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको घोषणा गरेको पनि मानिन्छ । यही कारणले आजको दिनलाई नेपाल दिवसका रूपमा मनाउनु पर्ने पनि आवाज सुनिन्छ । नेपालका २२ सय तथा २४ सय राज्यहरूलाई एक बनाउने अभियान पृथ्वीनारायण शाहले सुरु गरेकाले नै आज हामीले गर्वका साथ हामी नेपाली भन्न पाएका छौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 425

प्रतिक्रिया (०)

सम्बन्धित खबर