Aamsanchar

गठबन्धन देउवा र दाहालबीचको ‘मितेरी साइनो’ : ओली

Author Image
बिहिवार, मंसिर १, २०७९

मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहाने कि विनास अनि स्थिरता कि अस्थिरता चाहानेकाबीच हुने बताउनुभएको छ ।

यसअघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहाने नेकपा एमालेका सवै उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले विहीबार झापाको मेचीनगर ७ इटाभट्टामा आयोजना गरेको १ नम्बर क्षेत्रीय स्तरीय चुनावी सभालाई सम्बोधन गदैं पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले यो क्षेत्र भनेको सूर्याेदय उदाउने, देशनै प्रकाशमय र न्यानो नेपाल बनाउने भएकाले यसक्षेत्रका एमालेका सवै उम्मेदवारलाई विजयी गराउनु क्षेत्रनम्बर १ का मतदाताको कर्तव्य हुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनाव लड्ने अठोटका साथ तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई समेत जिताउन अध्यक्ष ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रनम्बर २ का एमाले मतदातालाई आग्रह गर्नुभयो ।

यो निर्वाचनबाट देशमा विनास, अस्थिरता र देशघाती चाहाने गठबन्धनलाई पराजय गर्नुपर्नेमा उहाँको जोड थियो । ४ मंसिरको निर्वाचनले देश र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने भएकाले समृद्घ नेपाल सुखी नेपालीको सपना पुरा गर्न समेत देशका सवैक्षेत्रबाट एमालेले जित्नुपर्ने र जिताउनपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेको तागत देखेर जनताको मन मनबाट, संसद्बाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरु गठबन्धन बनाएर चुनावमा आएको भन्दैं उहाँले गठबन्धन नाममात्रैको भएको टिप्पण्ी गर्नुभयो । भन्नलाई ५ दलिय गठबन्धन भने पनि खासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको मितेरी साइनो मात्र भएको ओलीको भनाई थियो । देउवा र दाहाललाई एकै रंगको चराको संज्ञा दिदैं अध्यक्ष ओलीले गठबन्धनलाई अझ बलियो र मजवुत बनाएर चुनावी प्रतिस्पर्धामा आउन चेतावनी दिदैं जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत नलाग्ने दाबी गर्नुभयो ।

उहाँले रैथाने भएकै कारण चुनाव जित्ने कल्पना नगर्न भन्दैं एमालेका उम्मेद्वार अग्निप्रसाद खरेल काम गर्न सक्ने, केन्द्रमा नीति निर्माण गर्न सक्ने र त्यसको कार्यान्वयन गर्न र सरकारमा मन्त्री समेत बन्न योग्य उम्मेदवार भन्दैं खरेललाई नेकपा एमालेले खपत गरेर उम्मेदवार नबनाएको स्पष्ट पार्नुभयो । छाप्रो हालेकै भरमा चुनाव जित्ने भए अग्नि खरेलको छाप्रो १ नम्बर क्षेत्रमा एमालेले हालिदिने उहाँको भनाई थियो ।

एमाले जे भन्छ त्यही गर्ने र जे गर्छ त्यही भन्ने पार्टी भएकोले हरेक नेपाली नागरिक नेपाली नागरिकताबाट बञ्चित हुनु नपर्ने उहाँको तर्क थियो ।

नेकपा एमालेकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्निप्रसाद खरेलले नेपाली काँग्रेसले आफु सत्तामा भएका बखत कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव अब खोज्ने बेला आएको बताउनुभयो । काँग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवाहरू विदेशिन बाध्य भएको उहाँले दाबी गर्नुभयो ।

नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको पूर्व महान्यायधिवक्ता समेत रहनु भएका खरेलले बताउनुभयो । २०४८ सालमा नेपाली काँग्रेसको बहुमतको सरकार रहेको समरण गराउदैं ‘हरिसिद्धि इँटा टायल कारखाना कहाँ छ ? भृकुटी कागज कलकारखानादेखि बालाजु कपडा कारखाना कस्ले बेच्यो ? बाँसबारी छालाजुत्ता कारखानामा सौदाबाजी कस्ले गरयो ? जनकपुर चुरोट कारखाना किन बेच्नु पर्यो अहिले कहाँ छ ?’नेता खरेलले प्रश्न गदैं भन्नुभयो—‘अब यसको हिसावकिताव सवै नेपाली जनताले खोज्ने छन् । नेपाली काँग्रेस सत्तामा रहँदा विकास निर्माणका आयोजनाहरूको चरम दोहन गरेको छ ।’ वीरगञ्ज, सर्लाही चिनी कारखाना समेत नेपाली काँग्रेसले बेचेको नेपाली जनताले नविर्सेको नेता खरेलको भनाई थियो ।

पूर्व कानुनमन्त्री समेत रहनु भएका खरेलले सरकारको तलव भत्ता खाइरहेको र सार्वजनिक पद धारण गरेर बसेका व्यक्तिले निर्वाचन आचारसंहिता उल्लघंन गदैं गठबन्धनका उम्मेदवारलाई भोट माग्दा निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ की हुदैंन भन्दैं निर्वाचन आयोगलाई प्रश्न गर्नुभयो ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले निर्वाचन आचारसंहिता उल्लघंन गदैं मेचीनगरको वडा नं. १० र १५ का साथै बुद्धशान्तिमा सुकुम्बासीको भेला आयोजना गरेर सत्ता गठबन्धन र उम्मदवारलाई भोट मागेकोप्रति आपत्ति जनाउदैं तत्काल कारवाही गर्न निर्पाचन आयोग समक्ष माग गर्नुभयो । आयोगका अध्यक्ष निरौलाले यही कात्तिक २१ गते झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा १ का गठबन्धनका उम्ेदवारलाई भोट माग्नु भएको थियो ।

निर्वाचन परिचालन कमिटीका संयोजक विष्णुप्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न चुनावी सभामा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार रविन कोइराला २ ‘ख’ का उम्मेदवार सविना बजागाईले सम्बोधन गर्नुभएको थियो । नेकपा एमलो केन्द्रिय सल्लाहकार परिषद सदस्य हरिचरण बानियाँले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पार्टीको क्षेत्रीय संयोजक टीकाराम मंग्रान्तीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसहित विभिन्न पार्टी परित्याग गरेर संयौ मानिस एमाले प्रवेश गरेका थिए । कलाकार राजा राजेन्द्रले आफ्नो प्रस्तुती दिइएको कार्यक्रममा लाखे नाच, मुण्डाजातिको नृत्यसहित विभिन्न जातजातिको संस्कृति झल्किने नृत्य र गीत प्रस्तुत गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर