Aamsanchar

बिर्तामोड रेडक्रसको तेस्रो साधारणसभा सम्पन्न, नयाँ समिति चयनको प्रक्रिया सुरु 

Author Image
बुधवार, पौष १३, २०७९

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको तेस्रो साधारणसभा आज रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
रेडक्रसका सभापति सजेश शिवाकोटी को अध्यक्षता र राष्ट्रियसभा सदस्य सांसद गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

२०६९ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले मानवीय सेवाका क्षेत्रमा थुप्रै कामहरू गर्दै आएको छ । ३४ जना यशस्कर सदस्य, ४९ जना विशिष्ट सदस्य र ९९९ जना आजीवन सदस्य रहेको बिर्तामोड उपशाखाले देवी माध्यमिक विद्यालय बिर्तामोड, गोमेन्द्र क्याम्पस बिर्तामोडमा जुनियर रेडक्रस सर्कल गठन गरेको छ । झापा गोल्डकपका सबै खेलमा एम्बुलेन्स सेवा सहित प्राथमिक उपचार स्वयम् सेवक परिचालन, बिर्तामोड नगरपालिकाले आयोजना गरेका खेलकुदमा स्वयंसेवक परिचालन, कोरोना महामारीको बेला सचेतना कार्यक्रम, भ्याक्सीनेसन, कोभिड रोकथाम न्यूनिकरण समितिमा रहेर सक्रिय भूमिका निर्वाह, अनारमनी क्याम्पसमा सेनीटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण, रक्तसञ्चार सेवा, सहारा नेपाल र रोटरी क्लबको सहयोगमा प्लाज्मा थेरापी बैंक, कोभिडको बेला इलाका प्रहरी कार्यालय बिर्तामोडलाई १५–१५ थान म्याट र कम्बल बितरण, एकका लागि एक अभियान अन्तरगत पिसिआर ल्याब निर्माणमा सहगोग, मानविय उद्धारको लागि ११५ थान अक्सिजन  सिल्डर विभिन्न अस्पतालहरूमा उपलब्ध गराएको, दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम, टेरिमिकेसका फाउण्डेसनसँग मिलेर बिर्तामोड–९ विरानमा स्वाथ्य शिविर सम्पन्न, नियमित रक्तदान कार्यक्रम आयोजना, आगलागी र  शीतलहर बाट प्रभावित २५ परिवारलाई खाद्य र गैरखाद्य राहत वितरण गरिएको सभापति सजेश शिवाकोटीले बताए ।

नेपालमा रेडक्रस २०२० साल भाद्र महिनामा स्थापना भएको थियो । रेडक्रसको हाल नेपालमा २३ लाख सदस्यहरू रहेका छन् । झापामा ११८६ सदस्यहरू रहेका छन् । जिल्लामा रेडक्रसको २६ वटा उपशाखाहरू रहेका छन् ।

साधारणसभामा  वीरता लेडी जेसिज अध्यक्ष संगीता चिमरिया, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु न्यौपाने, रेडक्रस उपशाखा बिर्तामोडका सल्लाहकार राजकुमार पोखरेल, राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा माओवादीका नगर अध्यक्ष मोहन सुब्बा, नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, नेपाली काँग्रेस नगर सभापति खगेन्द्र मैनाली, रेडक्रस झापाका सभापति लोकराज ढकाल र प्रमुख अतिथि गोपालकुमार बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत उपसभापति निर्मल भट्टराई, आर्थिक प्रतिवेदन कोषाध्यक्ष उर्मिला विमली खरेलले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।

नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले मनोनयन दर्ता खुल्ला गरेको छ । विशुद्ध सेवामुखी संस्था रहेकोले अब बन्ने समिति सर्वसम्वतबाट चयन गर्ने सम्भावना धेरै रहेको रेडक्रस उपशाखा बिर्तामोडका सचिव मनोज अग्रवालले आमसंचारलाई बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर