Aamsanchar

स्वस्थानी व्रत कथा र नारी समानताका तर्कहरू

Author Image
शुक्रवार, पौष २२, २०७९

स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु
सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।

हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

‘यं व्रह्मा वरूणेरूद्रमरूत’ र ‘उपनयतु मंगलम्’
श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रत कथाबारे थप कुरा उल्लेख गरौँ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाङ्क्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।

स्वस्थानी तिर्थयात्रीहरु
स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

स्वस्थानी व्रत कथा र नारी समानताका तर्कहरू
हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रत कथालाई सामाजिक मुद्दामा जोड्दै नारी समानताका सवालसहित व्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।

गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालविवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालविवाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजनन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित व्याख्या गरेको यो व्रत कथाले गणेशको शिर भेदन, संसारको सृष्टि अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत धेरै ठाउँमा नारी–पुरुषबिचको लैगिक समानताको वकालत पनि गरेको छ ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

हिउँदमा पूजा गरिएका नदी किनारहरूले वर्षामा सबैको रक्षा गरुन् । लैगिंक समानताका लहरहरू समाजमा साकार रूपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असीम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !

अष्टमातृकाहरुको केन्द्रका रुपमा स्वस्थानी माता
वैष्णवी, महाकाली, चामुण्डा, इन्द्राणी, वाराही, कोमारी, महेश्वरी र ब्राह्मी माता स्वरुपहरु नै अष्मातृकाका रुपमा विराजमान हुनुहन्छ ।
‘वृहदस्वस्थानी(व्रतकथा’ पुस्तकको अनुसार, श्रीस्वस्थानी देवीको ८ वटा रूप रहेको छ, जसलाई अष्टदल भनिन्छ। अष्टदलको केन्द्रमा बसेकी चार हातमा त्रिशूल, तलवार, चक्र र कमल लिएकी श्रीस्वस्थानी देवी हुनुहन्छ ।

माघ स्नान सुरु
माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजा अर्चना गर्नु र सकेसम्म सात्त्विक, अल्प हार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्त्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।

माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान् नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।

पूर्णिमा व्रत
स्वस्थानी व्रत सुरु हुने यस पूर्णिमाको महत्त्व विशेष रहन्छ । त्यसै पनि हरेक पूर्णिमालाई बडो श्रद्धाका रूपमा मनाइने चलन हाम्रो सनातन सभ्यतामा रहिआएको नै छ ।

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पूजा को फल निकै धेरै पाइन्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व बलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर