Aamsanchar

मेचीनगर नौ मा ज्येष्ठ नागरिकसहित ३० जना सम्मानित

बाल बचतकर्ताको पुरस्कार ऋषि धमलालाई

Author Image
बुधवार, माघ ४, २०७९

मेचीनगर । झापाको मेचीनगर— ९ स्थित उपभोक्तामहिला कृषि सहकारी संस्था लिले बुधबार २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आठौँ वार्षिक साधारणसभाको अवसर पारेर ८० देखि ९८ वर्ष उमेर समूहका बृद्घालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेची, वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङले स्वीटर र खादा पहिर्याएर सम्मान गर्नुभएको थियो ।

सोहि अवसरमा उत्कृष्ट बचतकर्ताकृष्णमाया आचार्य र बाल बचतकर्ता ऋषि धमलालाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोवार गर्ने क्षेत्रनम्बर १ बाट सुकमाया लिम्बु, २ बाट उषा वराल, ३ बाट हरिमाया लामिछाने, ४ बाट स्वस्थानी विक र ५ बाट विमला खड्कालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले ज्येष्ठ नागरिक बोझ नभई हाम्रो बुद्धिका स्रोत भएको बताउनुभयो । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गनुपर्नेमा जोड दिदैँ उहाँले विकास–निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्ने र जसबाट समय र लगानीको बचत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो । वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरू रहन्छन् नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहारविहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव रहेको उहाँको भनाई छ ।

उहाँले संस्थालाई संस्थाको नाम अनुसार कर्म गर्न सुझाव दिर्दै अब सहकारीहरु बचत र ऋणमा मात्र केन्द्रित नभई आयमुलक र उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । यो संस्थाको लक्षित क्षेत्रमा निम्न वर्गीयहरुको बसोबास रहेकाले कृषिलाई अघि बढाएर कर्म गर्न सके आत्मनिर्भर हुने विचार राख्नुभयो । अब कृषिलाई प्राथमिकतामा राखेर परनिर्भर नभई आत्मनिर्भरतर्फ लाग्न समेत जोड दिनुभयो । हामीले दैनिक उपभोग गर्ने खाद्य वस्तुका कारण विभिन्न रोगका शिकार हुनु परेको स्मरण गराउँदैँ उहाँले अब हामीले अग्र्यानिक कृषि कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

उपप्रमुख उप्रेतीले मानव जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सद्भाव एवम् सौहार्दता र मर्यादित आचरण तथा अनुशासित जीवन जिउने संस्कारको सुनिश्चितता आजको आवश्यकता रहेको उहाँको भनाई थियो । अब सहकारीहरुले सदस्य विस्तार गर्दा मापदण्ड अप्नाउनुपर्ने बताउनुभयो । यो संस्थाले जुन लक्ष्यका साथ अघि बढेको छ पुरा गर्नेमा आफु विश्वस्त रहेको धारणा राख्नुभयो । सवैको सहकार्य नै सहकारी भएकाले स्थानीय सरकार नगरभित्रका सहकारीको विकासकालागि सक्रियरुपमा लाग्नु प्रतिवद्घता व्यक्त गर्नुभयो । उपप्रमुख उप्रेतीले सहकारीका सिद्घान्तलाई मध्यनजर गरी पहिलो प्राथमिकतामा राखेर संस्था सञ्चालन गर्न सके खासै समस्या नआउने बताउनुभयो ।

उहाँले सहकारीका सिद्घान्तबाट बाहिर गएर संस्था सञ्चालन भए कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने भएकाले त्यसतर्फ सञ्चालकहरु बेलैमा चनाखो हुने स्मरण गराउनुभयो । संस्थाका सञ्चालक सदस्य र कर्मचारीबीच नङ्ग र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र कर्मचारीले कहि कतै सानो त्रुटि गरे संस्थाप्रति बचतकर्ताको हेर्ने दृष्टिकोण फरक पर्ने भएकाले संस्थाका शेयर सदस्यहरुभन्दा बढि कर्मचारीहरुले संस्थाप्रति जिम्मेवार, अनुशासीत भएर लाग्नुपर्ने उपप्रमुख उप्रेतीको भनाई छ ।

सरकारले सहकारीलाई देशको तीनखम्बे अर्थ नीतिमा समावेश गरेका कारण देशको अर्थतन्त्रमा सरकारी र नीजिक्षेत्रको भन्दा बढि योगदान सहकारीको रहेको बताउँदैं सरकारी,सहकारी र नीजिक्षेत्रले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गर्नुभयो । सवै सहकारीहरु एकआपसमा नफुटी काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले देशको अर्थतन्त्रमा खेलेको भूमिका कसैले पनि भुल्न नहुने भन्दैं सरकारले सहकारीकर्मी, सहकारी सञ्चालकहरुको भावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाकी अध्यक्ष संगीता थापाले कार्यक्रमको अध्यक्षता गर्दै सञ्चालक समितिकोतर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ, मागुरमाडी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अमर खम्बोलगायतले बोल्नुभएको थियो । सचिव चन्द्रकला खवासले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष प्रतिक्ष पराजुलीले स्वागत गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर