Aamsanchar

प्रदेश १ मा दैनिक ८ लाख २६ हजार लिटर कच्चा दूध उत्पादन

Author Image
बुधवार, माघ ११, २०७९

कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ ।  नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आज (बुधबार) साधारणसभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि कृषि मन्त्री सिटौला, कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले दूधबाट बनेको परिकार खाएर साधारणसभाको उद्घाटन गरेका थिए ।

प्रदेश १ मा दैनिक ८ लाख २६ हजार लिटर कच्चा दूध उत्पादन भइरहेको र त्यसमा २ लाख ६० हजार लिटर छुर्पी, ३० हजार लिटर चिज, औपचारिक रुपमा डेरी प्याकेजिङ ६० हजार लिटर, अनौपचारिक १ लाख २० हजार लिटर, कृषक स्वयंको घरमा ३ लाख १० हजार लिटर, अन्य प्रदेशमा निर्यात २६ हजार लिटर दूध खपत हुने गरेको अध्यक्ष खड्काको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ मा  दूधबाट छुर्पी, चिज, नौनी (घीउ), ललिपप, आइसक्रिम, धुलो दुध, मिठाई, कुराउनी लगायतका दुग्ध वस्तुहरू उत्पादन हुने गरेको छ । प्रदेशमा साना ठूला गरेर ७०० वटा उद्योग रहेका छन् । जसमा अनुज्ञापत्र प्राप्त २२ वटा उद्योगहरू रहेको छ । नेपाल डेरी एशोसियसनमा ७ वटा उद्योगहरू आवद्ध रहेको । ४ हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र अप्रत्यक्ष २ लाख किसान पशुपालक लाभान्वित रहेको हुदा प्रदेश  १ दूधमा आत्मनिर्भर भएको एशोसिएसनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष राजन चिमरियाले दाबी गरेका छन् ।

साधारणसभाले सरकार सँग केही मागहरू राखेको छ । मागहरूमा  सरकारले नीतिगत घोषणा गरेको सहुलियत ऋण, कृषि ऋण पूर्ण कार्यन्वयन गरिनु पर्ने । दूधको प्रशोधन, तिलिङ सेन्टर, आदिमा विद्युतीय छुटको व्यवस्था हुनुपर्ने । गाई, भैँसीको ओसारपसारमा सहज बनाउनु पर्ने । थारो गाई तथा साँढेको व्यवस्थापनको लागि गौशाला व्यवस्थापन हुनुपर्ने । डेरी क्षेत्रमा प्रयोग हुने सम्पूर्ण सामानमा भ्याट, कस्टम र भन्सार छुट हुनुपर्ने । एक सरकारी निकायमा बुझाएको कर अन्य निकायमा बुझाउनु पर्ने करप्रणाली सुधार गर्नुपर्ने । दर्ता प्रक्रिया र अनुज्ञापत्र लिने प्रक्रिया सहज बनाउनु पर्ने । उत्पादन प्रशोधन तथा बजारीकरणको लागि दक्ष जनशक्ति तयार गर्न राज्यस्तरबाट डेरी इन्स्टिच्युटको स्थापनामा जोड दिनु पर्ने । सुरक्षा सम्बन्धी सम्पूर्ण दुग्ध क्षेत्रमा नियमित अनुगमन, निरीक्षण गर्नु पर्ने । विदेशबाट आयात हुने दुग्ध पदार्थलाई निरुत्साहित गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन र आत्मनिर्भर बनाउन एकमात्र विकल्प आयातित दुग्ध पदार्थमा कर वृद्धि गर्नुपर्ने माग रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलाले आफू पनि दुग्ध कृषक भएको र किसानको समस्यालाई नजिकबाट बुझेको, नक्कली कृषक बनेर कागजमा गाई र गोठ देखाएर अनुदान खाने विचौलियाहरुलाई अब त्यस्तो अबसर नदिने, कृषि सहकरीको नाममा १० जना सामन्तहरु मिलेर  हजारौं कृषकहरुलाई षोषण गरिरहेका छन् । अब त्यस्तो सामान्तीहरुलाई कानुनी रुपमा बर्जित गरेर वास्तविक कृषक तथा उद्योगीहरुको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पशु विमा गराएका विमा कम्पनीहरुले पशुको उपचार र मृत्यु पछि विमा रकम उपलब्ध नगराई रहेको अबस्था छ । कनकाई नगरमा पनि कृषकले पशु विमा वापतको रकम पाएका छैनन् यस प्रति प्रदेश सरकारको ध्यान जानु पर्ने कनकाई नगर प्रमुख तथा कार्यक्रमका विशष्ठ अतिथि राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

कार्यक्रममा डेरी उद्योग संघका प्रदेश नम्बर १ अध्यक्ष रामचन्द्र उप्रेती, हिमालयन चीज उत्पादक संघका उपाध्यक्ष महेन्द्र प्रधानलगायतले मन्तव्य राखेका थिए ।

साधारणसभामा उपाध्यक्ष गुरुप्रसाद दाहालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन एशोशिएसन प्रदेश १ का सचिव अशेषकुमार बुढाथोकीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर