Aamsanchar

नेपाल–भारत सीमा क्षेत्रनजिक समसाँझै गाडी तोडफोड र लुटपाट

Author Image
आइतवार, माघ २२, २०७९

तस्बिर : अन्नपूर्णपाेष्ट

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१६ दरैयामा समसाँझै गाडी तोडफोड र लुटपाटको घटना भएको छ । प्रहरीका अनुसार रेटन कम्पनीको सरफको मार्केटिङका लागि प्रयोग गरिएको को २ च ९३०२ नम्बरको पिकअप गाडी शनिबार साँझ ५:४५ बजेतिर तोडफोड गरिएको हो ।

सरफको मार्केटिङमा खटिएकाको साथमा रहेको नगद पनि लुटपाट गरेर तोडफोडमा संलग्न फरार बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोडफोडबाट गाडीमा क्षति पुगेको छ । अगाडि र झ्यालका शिशा फुटेका छन् । तोडफोडपछि गाडीमा रहेकाको साथबाट १२ हजार ३ सय रूपैयाँ लुटपाट गरिएको श्रेष्ठले बताए ।

उनका अनुसार तोडफोड एवं लुटपाट गर्ने गिरोहले सरफको मार्केटिङमा हिँडेका गाडीका चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का २७ वर्षीय प्रदीप खड्का, ३६ वर्षीय जनक साह र ३० वर्षीय प्रेम सुवेदीलाई कुटपिट पनि गरेको खुलेको छ । ‘सडकमा गाडी रोकेर तोडफोड गर्दै गाडीमा रहेकालाई कुटपिट गरेको पाइयो,’श्रेष्ठले भने, ‘साथमा रहेको १२ हजार ३ सय रूपैयाँ नगदसमेत लुटेर घटनामा संलग्न फरार बनेको खुलेको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा विराटनगर–१६ का अन्दाजी २६ वर्षीय अनुप सुडी साहलगायत ४ जनाको संलग्नता देखिएको छ । ३ जनाको पहिचान प्रहरीले खुलाएको छैन । घटनामा संलग्न सबैको पहिचान भइसकेको प्रहरीले बताए पनि उनीहरु हालसम्म पक्राउ परेका छैनन् ।

प्रहरीका अनुसार घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेको पाइएको छ । डीएसपी श्रेष्ठले घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नालको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए । तोडफोड र लुटपाटमा संलग्न गिरोह भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर