Aamsanchar

मलेसियामा फेरि भीषण बाढी, छब्बीस हजारभन्दा बढीलाई स्थानान्तरण

Author Image
शुक्रवार, फागुन १९, २०७९

क्वालालम्पुर : मलेसियामा फेरि भीषण बाढी आएको छ। गाउँ–शहर जलमग्न भएका छन्। उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका छन्।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो। छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर सबैभन्दा बढी प्रभावित भएका छन्। बुधवारको अविरल वर्षाले समस्या थपिएको छ। देशका पाँच राज्य बाढीको चपेटामा परेका छन्। सरकारी अधिकारीहरूका अनुसार  विद्यालय र सामुदायिक भवनमा पीडितहरूलाई सारेर राहतका कार्यक्रम सञ्चालन गरिएको छ।

गत नोभेम्बरमा बाढीबाट पीडित भएको मलेसियामा पुनः बाढीले जनजीवन तहसनहस पारेको छ। मौसम विज्ञान विभागले आगामी एप्रिलसम्म वर्षा हुने जनाउँदै सबैलाई सचेत र सतर्क रहन आह्वान गरेको छ। जोहोर राज्यका सडक जलमग्न भएका छन्। केहीमा क्षति पनि भएको छ। सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरमा सवारीसाधन, घर र पसल डुबेका देखिन्छन्। राष्ट्रिय बाढी प्रकोप नियन्त्रण निकायले पोष्ट गरेका तस्बिरमा बच्चालाई बाल्टिनमा बोकेर सुरक्षित स्थानमा लगिएको देखिन्छ।

देशका २५ नदीमा पानीको सतह खतराको तहमा पुगेको उक्त निकायले जनाएको छ। भारी वर्षाका कारण हालसम्म एक सय दुई स्थानमा पटक पहिरो गएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर