Aamsanchar

मान्द्राले धानेकाे घरब्यवहार

Author Image
बुधवार, चैत २२, २०७९

सिन्धुपाल्चोक – सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।

उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैको बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ ।

‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु’, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्नुभएको हो । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घरखर्चमात्र टार्दै आउनुभएको छैन, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आउनुभएको छ ।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको उहाँको भनाइ छ । धान बिटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्यधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झन्डै तीन दिन लाग्छ । मान्द्रा दुई हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको शेर्पा बताउनुहुन्छ ।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ । अरू बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको जुगल–१ का कर्मा स्याङ्बो बताउनुहुन्छ । उहाँ पनि मान्द्रा बुनेर बेच्नुहुन्छ । ‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु’, उहाँले भन्नुभयो, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ ।

अन्न उब्जाउन जमिन छैन । कमाउन अरू इलम छैन । यहाँका धेरैजसोले आलुखेती गर्दै आएका छन् । आलुुखेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका  छैनन् । मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन् । आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रूपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर