Aamsanchar

टुङ्गबहादुर बस्नेतलाई सम्झिँदा

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

२०७९ साल पुस २२ गते बेलुकी पार्टी कार्यालयबाट मिटिङ सकेर डल्लु आवास क्षेत्रस्थित आफ्नो निवासमा आइपुगेको मात्र थिएँ । मेरो मोबाइलमा घण्टी बज्यो । कसको रहेछ भनेर हेर्दा माननीय गोपाल बस्नेतको रहेछ । मैले जिज्ञासापूर्वक फोन उठाएँ । उहाँले भन्नुभयो ’बुवा टुङ्गबहादुर बस्नेतको संस्मरण निकाल्न लागेको छु । त्यसमा तपाईंको पनि सुभेच्छा, शुभकामना सहित हस्ताक्षरको लागि फोन गरेको’ । मैले ’हुन्छ’ भन्दै छोटो कुराकानी पछि फोन राखें ।

फोन राखेपछि मेरो दिमागमा टुङ्गबहादुर बस्नेको बारेमा विगतको स्मृतिका तरंगहरु सिर्जना हुन थाले । यो २०१३ सालतिरको कुरा हो । मेरा आदरणीय बुवा पुङगनाथ खनालले मलाई र मेरा आदरणीय साइँला दाजु गिरिनाथ खनाललाई लिएर ’साँखेजुङ मिडिल स्कूल’ मा भर्ना गर्न जानुभएको थियो । प्रधानाध्यापक चित्रबहादुर पौडेलले दाजुलाई दुई कक्षामा र मलाई एक कक्षामा भर्ना गर्नुभयो । त्यस दिन एक बजिसकेको हुनाले भोलिपल्ट १० बजेदेखि स्कूल आउनु भन्दै बिदा दिनुभयो ।

स्कूल भन्दा करिब पाँचसय मिटरको दूरीमा पुगेपछि बुवाले हामीलाई ’कान्छा मुखियाकामा पुगेर जाऔँ हौ केटा हो’ भन्नुभयो । हामीहरु बाँसको तगारो जस्तो गेटबाट कान्छा मुखियाको घरतिर लाग्यौं । हामी पुग्दा कान्छा मुखिया घरको आँगन मै हुनुहुँदो रहेछ । एउटा खाटमा उहाँका बुवा धनराज बस्नेत गुडगुडे हुक्का तान्दै बस्नुभएको थियो । कान्छा मुखियाले ’ओहो पण्डित बा ! आउनुस् बसौं’ भन्दै हामीलाई पनि आँगनकै कुर्सीमा बसाउनु भयो । तिनै कान्छा मुखिया हुनुहुँदो रहेछ, टुङ्गबहादुर बस्नेत । मैले उहाँलाई पहिलोपटक त्यसैदिन देखेको हुँ । उहाँ हट्टाकट्टा, स्वस्थ्य र जवान देखिनुहुन्थ्यो । दौरासुरुवाल, अस्कोट र टोपीमा निकै फुर्ती पनि देखिनुहुन्थ्यो । उहाँ लगभग ३३ वर्षको लक्का जवान हुनुहुन्थ्यो ।

त्यस दिन मैले गोपाल बस्नेत, मेरो कक्षापाठी श्यामबहादुर बस्नेत लगायत अरुलाई भने देखिन । सायद उहाँहरु सबै स्कूल गएको समय थियो । मेरा बुवा र टुङ्गबहादुर बस्नेतका बीच आत्मीय सम्बन्ध भएको जस्तो लाग्थ्यो। त्यसबेला उहाहरु बीच निकै लामो कुराकानी भयो । मैले उहाँहरूका कुरामा त्यति ध्यान दिइन । म र गिरि दाजु एक आपसमा कुरा गर्दै बस्यौं ।

प्रधानाध्यापकले हामीलाई स्कूलमा पढ्नुपर्ने किताबको सूची दिनुभएको थियो। ती किताबहरु कसरी प्राप्त गर्ने, कहाँ किन्न पाइन्छ होला भन्ने बारेमा हामी कुरा गर्दै थियौं । एक्कासि ’ए बाहुन नानी हो, खाजा खाऔं’ भन्ने आवाजले हामीलाई तान्यो । साथी गोपाल बस्नेतका हजुरबुवा धनराज बस्नेतले हामीलाई भन्नुभएको रहेछ । त्यसपछि हामीले रोटी र चियाको खाजा खायौ । त्यहीबेला उहाँले हाम्रो मिडिल स्कूलको बारेमा गरेको कुराकानी अलिकति सम्झिन्छु ।

स्कूलमा विद्यार्थीको संख्या बढ्दै भएकाले कक्षा कोठाको अभाव पनि बढ्दै रहेछ । उहाँहरु बीच नयाँ भवन बनाउनु पर्ने बारेमा पनि कुरा भयो। त्यसै बीच टुङ्गबहादुर बस्नेतले भनेको सम्झन्छु, ’खेलकुदका लागि ग्राउण्ड साँघुरो छ, सबै खेल्न खोज्छन् । फुटबलका लागि मैले यहाँ मुन्तिर रहेको चउरमा खेलाउँदै गर्नुहोस् भनेर हेडसरलाई भनेको छु’ । यो कुराले भने हामी दुबैको ध्यान तान्यो। गिरि दाजु खेलकुदमा असाध्यै चाख राख्नुहुन्थ्यो । त्यतिबेला स्कूलका विद्यार्थी बीच फुटबल सबैभन्दा लोकप्रिय थियो । त्यसवाहेक भलिबल कपर्दी, डन्डिबियो, बाघचाल, भेडिगाठो, चोरपुलिस, व्याडमिन्टन आदि पनि खेलिन्थ्यो ।
टुङ्गबहादुर बस्नेतको कुरा सुनेर दाजु निकै खुसी हुनुभयो । त्यतिबेला मलाई उहाँहरूका कुराकानीको गहिरो अर्थ र महत्व थाहा हुने कुरा भएन । उहाँहरु साखेजुङ मिडिल स्कूलको सञ्चालक समितिका महत्वपूर्ण व्यक्तित्व हुनुहुँदो रहेछ । मेरा बुबा पुङनाथ खनाल सञ्चालक समितिको कोषाध्यक्ष र टुङ्गबहादुर बस्नेत सञ्चालक समितिका महत्वपूर्ण सदस्य हुनुहुँदो रहेछ । यसरी मैले टुङ्गबहादुर बस्नेतलाई स्कूल स्थापना गर्ने, सञ्चालन गर्ने र स्कूलका निम्ति विभिन्न प्रकारले योगदान गर्ने एक शिक्षाप्रेमी व्यक्तित्वका रुपमा चिन्ने मौका पाएँ ।
२००७ सालको क्रान्तिपछि आम जनतामा शैक्षिक जागरणको एउटा लहर सिर्जना भएको थियो । देशै भरको त्यो लहर र जागरणले साँखेजुङका अभिभावकलाई पनि राम्ररी छोएको थियो । २००४ सालमा टुङ्गबहादुर बस्नेत, ज्ञानीराम भट्टराई, खम्बसिंह बस्नेत, पुङ्गनाथ खनाल, कृष्णबहादुर भट्टराई, उमाकान्त खनाल लगायतका व्यक्तित्वहरुको सामुहिक प्रयासबाट साँखेजुङ मिडिल स्कूलको स्थापना भएको थियो । स्कूल स्थापनामा योगदानका साथै स्कूल हातासगै जोडिएको परिवार भएकोले पनि त्यो स्कूल सञ्चालनमा टुङ्गबहादुर बस्नेतको भूमिका विशिष्ट रहेको मलाई अनुभूति हुन्छ ।

उहाले आफ्नो जीवनको प्रथम २७ वर्ष निरकश जहानीया राणा शासन अन्तर्गत बिताउन परेको थियो । त्यो अवधिमा समाजले कुनै पनि विकास निर्माण गर्न नपाएको अवस्था थियो । शिक्षाको विकास ठप्प नै भएकाले र आफूले पनि शिक्षा प्राप्त गर्न नपाएको पीडासमेत उहाँमा थियो त्यसले गर्दा पनि उहाँमा शिक्षाका क्षेत्रमा केही गर्छ भन्ने भावना जागृत हुनु स्वाभाविक थियो ।
त्यसपछि मुलुकको बदलिंदो राजनीतिक परिदृश्यमा आम चुनावको हल्ला चल्न थाल्यो । हामी स्कूल पढ्दै थियौं । २०१५ साल आइपुग्यो । देशैभर आम चुनावको तापक्रम बढ्दै गयो । हाम्रो साँखेजुङ गाउँ पनि त्यसका लागि जागरुक भयो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, गोरखा परिषद् र स्वतन्त्र लगायतका पार्टी र व्यक्तिहरू आ–आफ्ना उम्मेद्वारका साथ मैदानमा देखा परे। त्यतिबेला सरकारले सिंगो देशलाई नम्बर दिएर एकसय ९ वटा निर्वाचन क्षेत्र निर्माण गरेको थियो ।

त्यस मध्ये इलामको साँखेजुङदेखि पूर्वको भाग निर्वाचन क्षेत्र नं २९ मा पर्दथ्यो । त्यसभन्दा पश्चिम मंगलबारे लगायतका क्षेत्र निर्वाचन क्षेत्र नं २८ मा पर्दथे । २९ नम्बर क्षेत्रमा कृष्णवहादुर भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस सक्रिय भएर अघि बढदै थियो। नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ज्ञानीराम भट्टराईको नेतृत्वमा कम्युनिष्ट पार्टी सक्रिय भएर अघि बढ्दै थियो । त्यस्तै अन्य पार्टीहरु पनि सक्रिय थिए । त्यसबेला नेपाली कांग्रेसको २९ नम्बर निर्वाचन क्षेत्रको सभापतिका रूपमा भने श्री दुङ्गवहादुर वस्नेत हुनुहुन्थ्यो । उहाँले नेपाली कांग्रेसको प्रचार प्रसारलाई व्यापक पार्नुभयो ।
प्रचार प्रसारमा नेपाली कांग्रेस सबभन्दा अघि देखिन्थ्यो । नेपाली कांग्रेसले पर्चा पम्प्लेटहरु व्यापक बनाएको थियो। कृष्णबहादुर भट्टराईको घर आगनमा स्कूल आउँदा पर्चैपर्चा देखिन्थ्यो। कृष्णवहादुर भट्टराईका छोराछोरीहरु काजी, भरत र कमला भट्टराई ती पर्चाहरु सिलगडीमा छपाएर ल्याएको बताउँथे । हामीकहाँ त्यतिवेला छापाखानाको स्थापना भइसकेको थिएन ।
टुङ्गबहादुर बस्नेत जस्ता युवा नेताको सक्रियतामा नेपाली कांग्रेसक प्रचार सबभन्दा प्रभावकारी भएको लाग्दथ्यो । आखिर त्यो निर्वाचन क्षेत्रबाट उहाँले कृष्णबहादुर भट्टराईलाई जिताउनु भयो । यसरी उहां त्यसबेला देखि नै नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो र लोकतन्त्रलाई स्थापित र सुदृढ गर्न चाहनुहुन्थ्यो । त्यसबेला म ९ वर्षको मात्रै थिए । ०१५ सालको आम निर्वाचनको सरगर्मी राम्ररी नै सम्झना छ ।
हामी स्कूल आउने बाटोमा छरिएका पर्चा पढ्थ्यौं । त्यति बेला कांग्रेसको प्रचारमा एउटा सवाईको पुस्तिका पनि प्रकाशित भएको थियो । त्यो पुस्तिकाको दुई लाइन अझ पनि मलाई सम्झना छ । त्यसमा भनिएको थियो ’रुखले नै खान दिन्छ, रूखले नै लाउन । हाम्रो मत अमूल्य छ, रुखमा नै लाउन’ त्यतिबेला यस्ता प्रचारहरु निकै प्रभावकारी हुन्थे ।
त्यो निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक बहुमत प्राप्त गन्यो । वीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो तर त्यो निर्वाचित सरकारले लामो समय काम गर्न पाएन । २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद विघटन गरेर मुलुकलाई निरङ्कुश पञ्चायती तानाशाही तर्फ लगे । जसले मुलुकलाई करिब ३० वर्ष अन्धकार तानाशाही व्यवस्था तिर लग्यो । त्यसबेला टुङ्गबहादुर बस्नेतलाई छान राजाले जेल हाले । उहाँले करिब ३८ वर्षको उमेरमा जेलको पनि अनुभव गर्नुभयो । तर जेलको यातनाले उहाँको लोकतन्त्र प्राप्ति आस्थालाई तल माथि पार्न सकेन ।
इलामको साँखेजुङमा उहाँको ठूलै खाइनपाइन थियो । उहाँका बुबा धनराज बस्नेतकै पालामा झापामा पनि ठूलो प्लट जग्गा लिनुभएको थियो । त्यसबेला तराईमा औलोको डरलाग्दो प्रकोप थियो । २७१० सालपछि राजा महेन्द्रको कार्यकालमा भने औलो उन्मुलनको कार्यक्रम देशव्यापी रुपमा लागू भएको हुनाले पहाडतिरबाट तराइतिर आप्रवासन व्यापक हुन थालेको थियो । त्यो प्रक्रिया ०१५÷०१६ सालदेखि नै सुरु भएको थियो । २०२० र २०३० को दशकमा पहाडबाट तराइतिर इतिहासमै सबभन्दा ठूलो जनसाङ्ख्यीक स्थानान्तरण हुनपुग्यो । जसलाई लोकभाषामा हामी बसाइँ सराइ पनि भन्छौं । टुङ्गबहादुर बस्नेतको परिवार पनि झापातिर स्थानान्तरित हुनपुग्यो । पञ्चायत कालमा र त्यसपछि पनि उहाँहरुको बसाइ धेरैजसो झापा तिर देखिन्थ्यो ।

तर के कुरा चाहिँ उहाँको जीवनमा मलाई रोचक लाग्यो भने झापामा ठूलो कामत भएर धेरैजसो झापातिरै रहे पनि उहाँको मनले इलाम छोड्न चाहिँ कहिल्यै मानेनछ । इलाम र आफ्नो जन्मथलो साँखेजुङप्रति माया र अनुराग चाहिँ गहिरो रहेछ । कृष्णबहादुर भट्टराई ०१५ सालमा सांसद भएपछि नेपाली कांग्रेस इलामको कार्यबाहक सभापति पनि बन्नु भएछ । त्यस पछिको लामो पञ्चायत काल र २०४६ को परिवर्तन पछिको कालमा पनि उहाँले आफ्नो राजनीतिक कार्यथलो चाहिँ इलामलाई नै बनाएको पाइन्छ ।

इलाममा भएका अधिकांश निर्वाचनका बेलामा उहाँलाई इलाममै देखिन्थ्यो । अर्थात् उहाँको मतदाता सूची इलाममै थियो । सबैलाई आफ्नो जन्मथलोको माया हुन्छ । जन्म थलोप्रतिको अनुरागले सबैलाई तान्छ । त्यो थलाका निम्ति केही गर्न पाए हुन्थ्यो भन्ने भावना जाग्छ । सायद दुङ्गबहादुर बस्नेतमा पनि यो भावना निकै गहिरो थियो । त्यसैले उहाँले इलाम, इलामको समाज, इलामका जनता र इलामका मतदातालाई कहिल्यै छोड्न सक्नुभएन । टुङ्गबहादुर बस्नेत इलामको साँखेजुङका एक सम्भ्रान्त परिवारका प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । उहाँका विचार र व्यवहारहरुको आलोचना गर्नेहरु पनि छन् । तर मैले समग्रतामा हेर्दा उहाँलाई निम्न रुपले पाएको छ ।
प्रथमतः उहाँ एउटा शिक्षाप्रेमी व्यक्तित्वका रुपमा क्रियाशील हुनुहुन्थ्यो । साँखेजुङमा मिडिल स्कूल स्थापना गर्ने काममा महत्वपूर्ण योगदान पुयाउनु भएको थियो । यस अर्थमा उहाँ एउटा शिक्षाप्रेमी र समाजसेवी हुनुहुन्थ्यो ।
दोस्रोः उहाँ एउटा भद्र व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँसँग मेरा भेटहरु कक्षा १ देखि कक्षा ६ सम्म पढ्दा अनगिन्ती भए । मसँग भेट हुने बित्तिकै ’बालाई सन्चै छ’, ’तिम्रो पढाई कस्तो छ ?’ भनेर सोधिहाल्नु हुन्थ्यो । म साँखेजुङमा पढ्दा सँधै कक्षामा पहिलो हुन्थे । स्कूल फस्ट पनि म नै हुन्थे । हरेक वार्षिक कार्यक्रममा म दुईवटा पुरस्कार पाउथे । त्यसले गर्दा उहाँ मेरो पढाइका बारेमा केही न केही सोधिहाल्नु हुन्थ्यो । उहाँको त्यो विनम्रतालाई म अहिले पनि सम्झन्छु ।
तेस्रोः उहाँ २०१५ साल अघिदेखि नै बहुदलीय लोकतन्त्र प्रति सचेत हुनुहुँदो रहेछ । उहाँले त्यसबेलादेखि निर्वाचन क्षेत्र नं २९ को सभापति भएर काम गर्नुभएको थियो । यो आस्था र विश्वास उहाँमा जीवनभर नै रह्यो । यो खुशीको कुरा हो ।
चौथोः उहाँ इलामप्रति आफ्नो जन्मथलोप्रति र इलामबासीहरुप्रति अनुरागी भएको देखिन्छ । यो पनि उहाँको जीवनको एउटा महत्वपूर्ण पक्ष हो ।
पाचौंः उहाँ आफ्ना दाजुभाइ र समकालीनहरु भन्दा धेरै नै सम्पत्तिवान र धनाढ्य बन्नुभयो । उहाँको घर अंश पनि झापाको बिर्तामोड जस्त ठाउँमा भएर पनि होला आफ्नो जीवनको पछिल्लो कालमा भन् सम्पन्न पनि बन्नुभयो । श्रोत ः निष्ठाको शतक

उहाँ वि.सं १९८० मा जन्मिनु भएको रहेछ । झापा र इलाम दुबैतिर उहाँको बसोबास रह्यो । तर मानिस जतिसुकै सम्पन्न भएपनि, सहुलियतपूर्ण जीवन प्राप्त गरे पनि जतिसुकै उच्च ओहदामा पुगे पनि आखिर यो पञ्च महाभूतबाट बनेको हाम्रो शरीर महान दार्शनिक बुद्धले भनेजस्तै ’क्षण भगुर’ छ । हाम्रो आयु सीमित छ । एकपटक जन्मेपछि मृत्यु हुनु अनिवार्य छ । त्यसरी नै टुङ्गबहादुर बस्नेतको पनि ९६ वर्षको उमेरमा दुःखद निधन भयो । अब हामीसँग उहाँको स्मृति मात्र बाँकी छ ।
गोपाल बस्नेत र म २०२३ सालमा केन्द्रीय छात्रवास, तहाचल काठमाडौंमा सँगै बस्थ्यौं । पछि हामी दुबैजना राजनीतिक क्षेत्रमा आयौं । उहाँ र म अलग राजनीतिक धारमा संलग्न भएपनि हात बीचमा सधै मित्रतापूर्ण सम्बन्ध रह्यो । उहाँलाई म धेरै अघिदेखि सांसद भएको हेर्न चाहन्थें । राष्ट्रिय सभा चुनावमा उहाँको विजयक निम्ति मेरो सहयोग निर्णायक थियो । उहाँ राष्ट्रियसभा सदस्य बन्नुभयो । त्यो मेरो पनि खुसीको कुरा भएको छ ।
उहाँले आफ्ना बुवा टुङ्गबहादुर बस्नेतको स्मृतिलाई ताजा राख्नका निम्ति स्मारिका प्रकाशनको योजना बनाउनु भएको रहेछ । साथीको आग्रह अनुसार उहाँका बुवाको स्मृतिमा यो सानो आलेख तयार गरिएको हो । समय अभावले विस्तृतमा जान सम्भव भएन । त्यसैले आज म उहाँका बारेमा स्मृतिको यो श्रृंखलालाई समापन गर्न चाहन्छु । टुङ्गबहादुर बस्नेत प्रति हार्दिक श्रद्धाञ्जली !!!

श्रोत : निष्ठाको शतक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर