


काठमाडौं : महोत्तरीबाट फरार कैदी २४ दिनपछि पुनः पक्राउ परेका छन्।
हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षका कृष्ण यादव गत चैत २४ गते प्रहरी निगरानीबाट फरार भएका थिए। उनको खोजीका क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका ३ मलिबारामा लुकीछिपी हिँड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
कारागारमै बिरामी परेका उनलाई उपचारको लागि प्रहरीले जनकपुरस्थित हाडजोर्नी डाक्टर मनोज प्रसाद गुप्ताको क्लिनकमा पुर्याएको थियो। यही क्रममा यादव शौचालयमा गएको बेला शौचालयको भेन्टिलेसन निकालेर भागेका थिए। पुनः पक्राउ परेका यादवमाथि कैदीबन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीमाथि धनुषा जनकपुर उपमहानगरपालिका ७ माछाबजारका १६ वर्षीय अर्जुन साहको हत्या गरेको अभियोग लागेको छ। ०७९ साउन २३ गते घरबाट बेपत्ता भएका साहको शव सोही दिन राति महोत्तरी लोहारपट्टी ९ भ्रमरपुरा भगवानपुरको भित्री सडकखण्डमा फेला पारेको थियो।
घटनाको अनुसन्धानका क्रममा साहलाई यादवलेपूर्वयोजना अनुसार घाँटी थिचेर हत्या गरी शव झाडीमा लुकाएको खुलेको थियो। सोही घटनामा जिल्ला अदालत महोत्तरीले अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा गत भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।