Aamsanchar

विराटनगरको सडकमा अर्धनग्न भएर प्रदर्शन

Author Image
आइतवार, वैशाख ३१, २०८०

विराटनगर – भ्रष्टाचारको विरोध गर्दै युवाहरूले विराटनगरको सडकमा अर्धनग्न भएर आइतबार प्रदर्शन गरेका छन्।

विराटनगरको ट्राफिक चोकमा भेला भएका युवाहरूले कम्मरदेखि माथिको कपडा खोलेर प्रदर्शन गरेका हुन्। उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले मुलुकमा राजनीतिक दल र सिस्टम नै नांगो भइसकेकाले विरोध स्वरूप सांकेतिक खबरदारी गरिएको जानकारी दिए।

‘नेताहरू जनतासामु नांगो भइसके। उनीहरूले मुलुकलाई संकटतर्फ धकेले,’ उनले भने, ‘नेताको नांगोपनालाई जनतासामु बुझाउन अर्धनग्न प्रदर्शन गरिएको हो। यसरी विभिन्न हिसाबले विरोध एवं प्रदर्शन गर्दै भ्रष्टाचारविरुद्धको आन्दोलनलाई व्यापक बनाउने अभियानमा छौँ।’

अर्धनग्न भएर सडकमा उत्रिएका युवाले सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। अकूत हिसाबले आर्जन गरेका सम्पत्ति छानबिन गरेर नेताहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ढुंगेलको माग छ। उनले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबै नेताको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

‘राजनीति गरेर उच्च ओहोदामा बसेका नेताले आर्जन गरेको सम्पत्ति र खडा गरेका अलिसान महललगायतलाई छानबिनको दायरामा ल्याइनुपर्छ,’ विराटनगर महानगरपालिका–१ का अच्यूत गिरीले भने, ‘देशमा ठूला भ्रष्टाचारसँग जोडिएका घटनाको छानबिन गरिनुपर्छ।’

उनले लाउडा, धमिजा, एनसेल, वाइडबडी, ओम्नी, सर्पपालन, ललिता निवास, क्यान्टोनमेन्टजस्ता ठूला काण्डको छानबिन गरेर दोषीमाथि कारबाही गरिनुपर्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई राजनीतिक आडमा उन्मुक्ति दिन हुने भन्दै युवाहरूले सरकारको ध्यानआकर्षणसमेत गराएका छन्। देशको शासन प्रणालीलाई नियमसंगत ढंगबाट सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

नेताहरूले मुलुकको बदनाम गरेकाले देशको शाख बचाउन युवा जमात सडकमा निस्किएर अर्धनग्न हुनुपर्ने अवस्था आउनु दुःखद् भएको ढुंगेलले बताए।

मुलुकको अस्तित्व रक्षाका लागि आफूहरूले बारम्बार खबरदारी गरिरहने उनको भनाइ छ। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएसँगै यतिबेला भ्रष्टाचारविरुद्ध मुलुकभर प्रदर्शन र विरोध भइरहेको छ। विभिन्न शैली अपनाएर विरोध गर्ने क्रम तीव्र बनेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर