Aamsanchar

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानविपरीत : खनाल

Author Image
बिहिवार, जेठ १८, २०८०

काठमाडौं :  पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधानविपरीत भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने बताए। उनले मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानविपरीत भएको बताए।

उनले सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणीकरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने स्पष्ट पारे। उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपतिसमक्ष विधेयक जान नसक्ने स्पष्ट पारे। उनले सरकारले कानुन मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको आरोप लगाए।

उनले भने, ‘कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख हुन्छ। के यो अहिलेको नागरिकतासम्बन्धी विधेयक संसदको सभामुखले पठाएको हो? थाहा छैन। यो त पहिल्यै पठाएको हो। अनि यसरी सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणकीरण गर्नुपर्छ, कहिले पठाएको हो, यो जिउँदो छ कि छैन, जिउँदो हुन कति समय चाहिन्थ्यो, त्यो समय पार भएपछि यो जिउँदो हुँदैन। तर अहिले प्रमाणीकरण भयो। कुनै एउटा विधेयक एउटा सेसनबाट पास भयो, तर यसले विधेयकको रुपमा प्रमाणीकरण नगरीकन हुँदैन। विधेयक पास भएर प्रमाणीकरण हुँदैन। एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै जान सक्दैन। अर्कोमा फेरि लैजानुपर्छ। अहिले पुनः संसदमा लगेर छलफल गरेर, त्यहाँबाट पास गरेर सभामुखले प्रमाणीकरण गरेर पठाउनु पर्दथ्यो, तर त्यो भएन, कानून मिचेर। आवश्यक थियो होला, तर संविधान मिचेर कुनै काम हुनु हुँदैन।’

रेशमको माफी गलत

पूर्वप्रधानमन्त्री खनालले टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु गलत भएको बताए। उनले जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको बताए।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘आम माफी गर्ने कसरी हो? जेलाई पनि आम माफी गर्न सकिन्छ? यसबारेमा छलफल गरेर अघि बढ्न आवश्यक छ। जिल्ला अदालतले अपराध भन्छ, उच्च अदालतले पनि संघीन अपराध भन्छ, सर्वोच्चले भन्छ अपराध हो, २० वर्ष कैद गर्नुपर्छ। सरकार भन्छ यो राजनीतिक कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ, माफी देउ। मिल्यो कि मिलेन? यो मेरो दिमागभित्र पसेको थिएन, कुनै विद्वानले पसाइदिने हो भने म त्यो विज्ञानको खोजिमा छु। म बुझ्नै नसक्ने भएँ की ? के अर्थले यो काम भएको छ।’

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डा गर्दै सह्य नहुने चेतावनी दिए। उनले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने बताए। उनले राजाका मान्छेहरुले आफूविरुद्ध नाराबाजी लगाएको प्रति आक्रोशित हुँदै राप्रपाको अध्यक्ष बनेर प्रतिस्पर्धामा आउन चुनौती दिए।

उनले भने, ‘अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै शुरु भएको छ। उनीहरुका विभिन्न कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप हुन थालेका छन्। आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ। कतै यहाँ मण्डले गुण्डाहरु त प्रवेश गर्ने होइनन् भनेर। हिजो पनि म एउटा कार्यक्रममा गएँ। त्यहाँ वामपन्थी नेताहरु भेला हुँदै छन् भनिएको थियो। म जाँदा कार्यक्रमको रुप अलि भिन्दै रहेछ। बोल्ने क्रममा तथानाम गाली गरे। मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छरस्ट कुराहरु भए। सबै पार्टीको विरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराबिरुद्ध। मलाई विभिन्न आरोप लगाए।’

पूर्वप्रधानमन्त्री खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको र कुनै पनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान सुरु गर्न आग्रह गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर