Aamsanchar

श्रीलङ्काले गर्याे तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा

Author Image
शुक्रवार, जेठ १९, २०८०

सन् २०२२ मा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ ।

गएको महिना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याजदरमा कटौती गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति झण्डै १० प्रतिशतले घटेको देखिएको छ ।

सन् २०२० जुलाईमा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो । आर्थिक सङ्कट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गएको वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।

आर्थिकरूपमा धराशायी बनेको एसियाली देश श्रीलङ्काले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक सङ्कटका कारण ऋणभार चुलिएको थियो । अहिले अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ ।

श्रीलङ्कामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो । तत्कालीन राष्ट्रपति गोटबाया राजापक्षे महिनौँ लामो विरोध प्रदर्शनपछि जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य हुनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर