

काठमाडौं – अस्ट्रियाको बर्गेनल्यान्ड क्षेत्रस्थित प्रहरीले लोकप्रिय बेबी फुड ब्रान्ड ‘हिप’का जारमा मुसा मार्ने विष फेला परेको जनाएको छ ।
एक ग्राहकले शंकास्पद जारबारे गुनासो गरेपछि सुरु भएको अनुसन्धान हाल धेरै देशमा फैलिइसकेको छ । सावधानीका रूपमा अस्ट्रियाका १५ सयभन्दा बढी सुपरमार्केटबाट यो उत्पादन फिर्ता मगाइएको छ ।
प्रहरीका अनुसार, १९० ग्रामको गाजर र आलु फ्लेवर भएको बेबी फुडको एक बट्टाको नमुना परीक्षणमा पोजिटिभ नतिजा आएको छ । प्रारम्भिक प्रयोगशाला परीक्षणमा मुसा मार्ने विषको उपस्थितिको पुष्टि भएको जनाइएको छ ।

चेक रिपब्लिक र स्लोभाकियामा जफत गरिएका यस्तै प्रकारका जारमा पनि विषाक्त पदार्थको संकेत भेटिएको छ । यद्यपि, यसबारे पूर्ण जानकारी सार्वजनिक गरिएको छैन ।
बेबी फुड निर्माता कम्पनी हिपले यो घटनालाई अत्यन्त गम्भीर भनेको छ । कम्पनीले आफ्नो बयानमा भनेको छ, “हाम्रो जानकारीअनुसार यो गम्भीर स्थिति ‘बाह्य आपराधिक हस्तक्षेप’सँग जोडिएको छ, जसले स्पार अस्ट्रियाको वितरण प्रणालीलाई प्रभावित गरेको छ ।” स्पार सुपरमार्केट चेनका प्रवक्ताले उत्पादनलाई सावधानीका रूपमा फिर्ता लिइएको बताएका छन् । उनले अरू देशमा रहेका स्टोरमा यसको कुनै प्रभाव नपरेको पनि बताएका छन् ।
स्पार र हिप दुवैले ग्राहकलाई यो उत्पादन सेवन नगर्न र फिर्ता दिन अपिल गरेका छन् । र, यसको पूर्ण रकम फिर्ता गरिने जनाइएको छ ।



