
काठमाडौँ – अमेरिकामा जन्मिएकी नेपाली मूलकी छात्रा एन्जल भण्डारीले विश्व रोबोटिक्स क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ ।
अमेरिकाको नेब्रास्कास्थित ब्रोनेल टलबोट स्कुलकी छात्रा एन्जल र उहाँको टोलीले सन् २०२६ को प्रतिष्ठित भिआइएक्स रोबोटिक्स विश्व च्याम्पियनसिप जितेको हो ।
अमेरिकाको सेन्ट लुईसमा सम्पन्न प्रतियोगितामा विश्वभरका सात हजारभन्दा बढी टोली सहभागी भएका थिए । तीमध्ये ४० भन्दा बढी देशका करिब ९०० उत्कृष्ट टोलीमात्र उक्त चारदिने रोबोटिक्स विश्व च्याम्पियनसिपका लागि छनोट भएका थिए ।

यस्तो उच्चस्तरीय प्रतिस्पर्धामा एन्जलको टोलीले अपराजित २३–० को ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि जितेको हो । यस सफलताको विशेष पक्ष भनेको टोलीका विद्यार्थीले रोबोटको सम्पूर्ण डिजाइन, निर्माण, कम्प्युटर प्रोग्रामिङ, परीक्षण र सञ्चालन आफै गरेका थिए ।
छ सदस्यीय टोलीमा एन्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी उहाँले टोलीका प्राविधिक सदस्यबिच समन्वय कायम गर्नुका साथै रणनीतिक योजना, तथ्यांक विश्लेषण, इन्जिनियरिङ दस्तावेज तयारी र निर्णायक समक्ष प्रस्तुतीकरणको नेतृत्वसमेत गर्नुभएको थियोे ।
रोबोटिक्स च्याम्पियनसिपसँगै एन्जलको टिम ‘ईन्टरनेशनल विजनेस प्लान स्पिच एन्ड प्रिजेन्टेसन’ मा पनि १० हजारभन्दा बढी प्रतिस्पर्धीबिच अन्तिम चरणसम्म पुग्न सफल भएको छ ।
सङ्खुवासभाको चैनपुरबाट अमेरिका जानुभएका एन्जलका पिता ज्ञानेन्द्र भण्डारी झनेवार्साको नेप्लिज सोसाइटी’ का संस्थापक तथा पूर्वअध्यक्षसमेत हुनुहुन्छ । संयुक्त राज्य अमेरिका मा बसोवास गर्ने नेपाली समुदायलाई एकताबद्ध बनाउन उहाँले लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
ज्ञानेन्द्र र उहाँकी पत्नी स्मृति राना भण्डारीले सन् २००४ देखि ‘जयपुर इन्डियन रेस्टुरेन्ट एन्ड बेर्विङ कम्पनी’ सञ्चालन गर्दै आउनुभएको छ । एन्जल भण्डारीको यो सफलता नेपाली मूलका युवापुस्ताका लागि प्रेरणा बनेको र विश्वभर रहेका नेपाली–अमेरिकी समुदायका लागि गर्वको विषयसमेत बनेको नेवार्साका नेप्लीज सोसाइटीका अध्यक्ष यदु सापकोटाले बनाउनुभयो ।


