Aamsanchar

एनएमसीले सुरु गर्यो सिटीसी चिया व्यवसाय, किसानलाई शोषण गर्ने उद्योगीमा झट्का 

Author Image
आइतवार, जेठ २८, २०८०

बिर्तामोड । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसीले) नयाँ व्यवसायको रुपमा एनएमसी सीटीसी चिया बजारमा ल्याएको छ । सहकारीको मूल्य र मान्यता अनुसार व्यवसाय विस्तार गर्दै जाने संस्थाको नीति अनुसार  एनमसीले सीटीसी चिया उत्पादन गरेर बजारमा ल्याएको आज (आइतबार) बिर्तामोड स्थित कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

२०७२ सालदेखि बहुँ व्यवसाय सञ्चालन सुरु गरेको एनएमसीले आफ्ना चिया खेती गर्दै आएका सदस्य र देशका विभिन्न ठाउँमा रहेका साना चिया बगान भएका कृषकलाई बजार सहज बनाउन   सीटीसी चिया को व्यवसाय सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

पूर्वमा केही ठूला चिया उद्योगीहरूले चिया किसानले उत्पादन गरेको कच्चा चियाको उचित मूल्य नदिनु, समयमा भाउ नतोक्नु र तोकिएको मूल्य पनि १ वर्ष सम्म किसानलाई नदिएर साना चिया कृषकहरू मर्कामा परेको अवस्था बुझेर ति कृषकलाई संरक्षण र प्रर्वधन गर्ने उद्देश्यले एनएमसीले चिया व्यवसाय सुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले भने ‘एनएमसीले काँचो चिया खरिद गरेको महिना दिनको जम्मा रकम १५ दिन भित्र मैै भुक्तानी दिने छ । चिया क्षेत्रमा एनएमसीको उपस्थितिले पुराना ठूला उद्योगीहरू झस्किएका छन् । अब ति उद्योगीहरूले कृषकलाई चियाको उचित मूल्य र समयमै भुक्तानी दिन बाध्य हुने छन् । यस कारण पनि एनएमसी साना चिया कृषकहरूको आशा र भरोसाको केन्द्र बन्ने छ । केही ठूला उद्योगको बदनियतका कारण साना चिया कृषकहरू अत्यन्तै कर्मामा पर्ने गरेकाले धेरैले चिया खेती गर्न नै छोडेको अवस्था छ । अब एनएमसीले त्यस्ता पीडित कृषकलाई चिया खेती गर्न प्रोत्साहन गर्ने र कृषि क्रान्तिको एक हिस्सा एनएमसी बन्ने ’ उप्रेतीले दावी गरे ।

यस अघि एनएमसीले डेरी, कृषि फर्म, सहकारी पसल सञ्चालनमा ल्याइसकेको छ ।

संस्थाले झापाको मेचीनगर–५ सुरेन्द्रनगरमा आधुनिक चिया उद्योग स्थापना गरेको छ ।  नेपाली चियालाई स्वदेश तथा विदेशमा बिक्री गर्ने सरकारीको लक्ष्यलाई पुरा गर्न २०७८÷०७९ सालदेखि इलामको साँघुबेँसी, सिद्धिखोला र इलामेली सँग एकीकरण गरी सोही वर्ष देखि वार्षिक ७५ हजार केजी तयारी अर्थोडक्स, ग्रिन टी र ब्ल्याक टी उत्पादन गरेर स्वदेशी विदेशी बजारमा बिक्री गरिएको र आजबाट सिटीसी चियाको व्यसाय सुरु गरिएको चिया व्यवसाय विभागका प्रमुख रविन्द्र पाण्डेले बताए ।

‘एनएमसीले १ जना चिया विज्ञ पनि नियुक्त गरेको छ । चिया विज्ञ कमल भारतीले चियाको गुणस्तरको क्षेत्रमा काम गर्दै आएका छन् । उपभोक्ताले एनएमसी चियालाई अत्यन्तै रुचाएका छन ।  उपभोक्ताको माग बमोजिम सीटीसी चिया उत्पादन सुरु गरिएको’ पाण्डेको भनाई छ ।

एनएमसी चिया उद्योगबाट वार्षिक दुई लाख केजी तयारी चिया उत्पादन गरेर बिक्री गर्ने संस्थाको लक्ष्य रहेको जनाईएको छ ।   संस्थाले ४६ प्रकारका प्याकेजिङ बस्तुहरू तयार गर्ने र निकट दिनमा एक सय प्रकारका बस्तुहरू उत्पादन गरेर आफ्नै सहकारी पसलहरूबाट बिक्री गर्ने योजना रहेको संस्थाकी उपाध्यक्ष भगवती मैनालीले बताइन ।

एनएमसीले झापा इलाममा गरि १६ वटा सहकारी पसलहरू सञ्चालनमा ल्याइसकेको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर