Aamsanchar

विदेशको काम छोडेर नेपाल फर्किएका पराजुली कृषि पेशामा भविष्य खोज्दै 

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

मेचीनगर ।  युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका खवर आइरहँदा झापा मेचीनगर— ६ काँकरभिट्टाका ५३ वर्षीय रुद्रप्रसाद पराजुली भने व्यवसायिक कृषि कर्ममा लाग्नुभएको छ । हरेक दिन नेपाली युवा रोजगारको अवसर खोज्दैँ विदेशी रहँदा मेचीनगरका पराजुली भने व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेर नै आफ्नो भविष्य खोजी रहनु भएको छ । उहाँ जस्ता थुप्रै युवा कृषकको संख्या जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्लामा पछिल्लो समयमा कृषिलाई व्यावसायिक बनाएर लगानी गर्ने र अनुदान माग गर्ने युवा किसानको संख्या पनि वृद्धि हुँदै गएको छ । तर, पराजुलीले भने कँही कतैबाट अनुदान नलिई व्यवसाय शुरु गर्नुभएको छ । आफ्नो आम्दानीको कुनै स्रोत नहुँदा बाहिरी मुलुक धाउँदै आएका युवाहरूका लागि पराजुलीले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार – व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिएर गर्न सके आफ्नै देशमा पनि गर्न सकिने उदाहरण पेश गर्नुभएको छ ।  यतिमात्र होइन पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ भन्ने कुरा समेत पराजुलीले पुष्टि गर्नुभएको छ ।

हुन् त पराजुली पनि वैदेशिक रोजगारीका लागि गुजरात पुग्नुभयो । २ वर्षसम्म त्यहाँको हिरा कारखानामा डिजाइनरको काम गर्नुभयो । तर, त्यो कामबाट घरको गर्जो नटरे पछि मोटरसाइकल र साइकल ग्यारेजमा मजदुरी गर्न थाल्नुभयो । त्यसले पनि जीवन चल्ने अवस्था नदेखेर इलेक्ट्रिसियन तिर लाग्नुभयो । ९ वर्ष गुजरातमा काम गरी नेपाल फर्केपछि त्यही इलेक्ट्रिसियन कामलाई निरन्तरता दिनुभयो । जसोतसो परिवार त त्यही पेशाबाट पाल्दै आउनुभएको थियो उहाँले । अहिले आएर त्यसबाट पनि आफ्नो भविष्य नदेखेपछि कृषि व्यवसायका रुपमा बाख्रा, कुखुरापालन शुरु गर्नुभएको छ ।

उहाँले विदेशको भन्दा आफ्नै गाउँघरमा राम्रो कमाइ हुने संकेत देख्नुभएको छ । मेचीनगर— ७ मा ८ कठ्ठा जग्गा खरिद गरेर करिव ५० देखि ६५ लाख रुपैयाँ खर्च गरेर उहाँले पशुपक्षी व्यवसाय शुरु गर्नुभएको छ । ४ कट्ठा जमिनमा करिब १८ लाख रुपैयाँ बराबरको लगानीमा फार्म सञ्चालन ल्याउनु भएको छ । वरिपरि तारको जाली र व्यवस्थित पर्खालले फार्मको सुरक्षा गरेको छ । फर्ममा सातवटा कोठा छन् । ४ कठ्ठामा घाँस खेती लगाउनु भएको छ । घाँसका लागि मकै र सुपर निपिया लगाउनुभएको छ । पक्षीका लागि कुखुरालाई दिने चारोको व्यवस्थापन गर्नुभएको छ ।

फार्ममा साना र ठूला गरेर विभिन्न जातका २९ वटा खसी बाख्रा, चारवटा गाई, २४ वटा हास, १५ वटा टर्की, २६ वटा कुखुरा र ६ वटा तित्रा पाल्नु भएको छ ।  खसी ५ केजीदेखि १८ केजी सम्मका छन् ।

“घरपरिवार त्यागेर अरुको देशमा गएर मजदुरी गर्नुभन्दा आफ्नो गाउँघरमा केही व्यवसाय गर्दा आम्दानी बढ्नाका साथै आत्मसन्तुष्टी पनि हुँदोरहेछ,” पराजुलीले भन्नुभयो, “अहिले यस व्यवसायबाट आम्दानी शुरु नभए पनि १ वर्षपछिबाट राम्रै आम्दानी शुरु हुन्छ ।”आफ्नै व्यवसाय सुरुआत गरेपछि आम्दानीका स्रोत बढ्नाका साथै आर्थिकरूपमा सबल हुने उहाँको भनाई छ  । “थोरै आम्दानीबाट सुरुआत गरिएको पशुपालन  आगामी दिनमा व्यावसायिक रूपमै अघि बढाउँने छु उहाँले थप्नु भयो ।”

व्यावसायिक रुपमा पशुपालन गर्दा दुबै दम्पती स्वरोजगार हुनाका साथै घरायसी गर्जो टार्न सहयोग पुग्ने उहाँको भनाई छ । “मैले आफ्नो जीवनकालमा धेरै वर्ष भारतमा मजदुरी गरेँ तर केही प्रगति गर्न सकिन बल्ल अहिले आयआर्जनको बाटो खुलेजस्तो अनुभव भइरहेको छ ।’’उहाँले भन्नुभयो । अहिले पराजुलीले मासिक सात हजार रुपैयाँ दिएर एकजनालाई रोजगार दिनुभएको छ । बिहानको झिसमिससँगै  झण्डै नौ बजेसम्म उहाँ आफ्नै फार्ममा भेटिनु हुन्छ । पशुपक्षीका लागि आवश्यक घाँसका लागि थप १० कठ्ठा जमिन भाडामा लिएर घाँसको खेती समेत शुरु गरेका कारण पशुपक्षीलाई खाद्यान्नको अभाव नहुने उहाँको तर्क छ ।

खसीबाख्रामा लाग्ने पीपीआर महामारी तथा पक्षीमा लाग्ने रोगविरुद्ध पशु प्राविधिकसँग समय समयमा परामर्श लिने योजना उहाँको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका वरिष्ठ अध्यापक शिक्षा संकाय प्रमुख हेमकुमार खड्का नेपालमा कृषिलाई सम्मानको पेशा नबनाएसम्म विकास हुन नसक्ने बताउनुहुन्छ । भएको छ । कृषि क्षेत्रमा युवाको आर्कषण नबढेसम्म यसले गुणात्मक फड्को मार्न नसक्ने हुँदा कृषिमा क्रान्ति गर्दै साँच्चैकै कृषकहरुलाई अनुदान दिनुपर्ने, विभिन्न कार्यक्रम ल्याएर कृषिप्रति आर्कषण गर्न सरोकारवालाहरू गम्भीर बन्ने समय आएको स्पष्ट पार्नुभयो ।

निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउन राज्यको नीतिले पनि सात्विक असर पार्ने भन्दै खड्काले प्रविधिमैत्री सीपलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले पनि यहीँको उत्पादनलाई प्रोत्साहन गर्न सके यस्ता कर्ममा अन्य मानिसको समेत आर्कषण हुने देखिन्छ । सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर व्यवसायी समेत लाग्न जरुरी छ । विदेशको लामो बसाइबाट आजित भएर गाउँमै बाख्रा पाल्न सुरु गरेका स्थानीय एक युवा बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर